रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास, ३१.५ प्रतिशत शरीर जलेपछि कीर्तिपुर रिफर
रौतहट — रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनाव र डिप्रेसनबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि परिवारका सदस्यले उनलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। अस्पतालबाट बिहान जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको थियो।
गरुडा बजारस्थित झाझ पुल नजिक सानो होटल सञ्चालन गर्दै आएका सहनीको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।










