आज पनि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह

देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेकाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेश प्रदेश र बागमती, गण्डकी तथा लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
भारी वर्षासँगै नदी–खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम रहने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने जनाइएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, देशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेशका पहाडी भू–भाग तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।










