आउटसोर्सिङको विरोधमा करार कर्मचारीको धर्ना, अर्थ मन्त्रालयको प्रवेशद्वारमा प्रदर्शन
काठमाडौं, ३० असार — करार सेवामा कार्यरत कर्मचारी हटाएर आउटसोर्सिङमार्फत जनशक्ति व्यवस्थापन गर्ने सरकारी तयारीको विरोधमा विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेला भएका १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले प्रस्तावित व्यवस्थाले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी जोखिममा पर्ने बताएका छन्।
प्रदर्शनकारीहरूले करार सेवामा रहेका कर्मचारीको सेवा निरन्तरता सुनिश्चित गर्न, आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल फिर्ता लिन तथा रोजगारी सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्।
करार कर्मचारीहरूले आफूहरूको लामो अनुभव र योगदानलाई बेवास्ता नगर्न सरकारलाई आग्रह गर्दै माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनीसमेत दिएका छन्।










