मिटरब्याज पीडित र गृहमन्त्रीबीच निजगढमा पहिलो वार्ता, दोस्रो चरणको तयारी
बारा, जनकपुरधामबाट काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडित र नेपाल सरकारका गृहमन्त्रीबीच बाराको निजगढमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले वार्तालाई सकारात्मक भएको बताएका छन्।
निजगढ उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा आन्दोलनरत पक्षले अघि सारेका ६ बुँदे मागबारे विस्तृत रूपमा कुराकानी भएको थियो। आन्दोलनरत पीडितहरूको गुनासो प्रत्यक्ष सुन्न तथा समाधानका उपायबारे छलफल गर्न गृहमन्त्री निजगढ पुगेका हुन्।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका प्रवक्ता नवि निर्गका अनुसार पहिलो चरणको वार्ता सहमतिउन्मुख रहेको छ। उनका अनुसार अब दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवैले आन्तरिक तयारी गरिरहेका छन्।
पीडितहरूले आफ्ना माग सम्बोधन गराउन र विगतमा भएका सहमतिहरू कार्यान्वयन गराउन दबाबस्वरूप असार २५ गतेदेखि जनकपुरधामबाट ‘न्याय मार्च’ सुरु गरेका हुन्। सङ्घर्ष समितिले गृहकार्य पूरा भएपछि दोस्रो चरणको वार्ता छिट्टै बस्ने जनाएको छ।










