कोल्हवी तेली कल्याण समाजको प्रथम अधिवेशन सम्पन्न, महेश कुमार साह अध्यक्षमा सर्वसम्मत चयन
कोल्हवी,कोल्हवी तेली कल्याण समाजको प्रारम्भिक साधारणसभा तथा प्रथम अधिवेशन २०८३ असार २९ गते सोमबार कोल्हवीमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले महेश कुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष महेश कुमार साहले गरेका थिए।प्रमुख अतिथिका रूपमा कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी उपस्थित थिए भने नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी,इलाका प्रशासन कार्यालय कोल्हवीकी प्रमुख पल्लवी कुमारी कर्ण,कोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाईं, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमान चोङ्गवाङ तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कोल्हवीका प्रतिनिधि आशिक चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। साथै समाजका विभिन्न वर्ग र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनबाट महेश कुमार साह अध्यक्ष, प्रमोद साह तेली उपाध्यक्ष,शम्भु साह तेली सचिव, सीमा शाह कोषाध्यक्ष, राजकिशोर साह सहसचिव तथा विनोद प्रसाद साह, देवकी कुमारी, सुमन कुमारी साह र ध्रुव साह सदस्य रहने गरी नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
त्यसैगरी समाजको विधान निर्माणका लागि महेश कुमार साहको संयोजकत्वमा प्रिती शाह, अनिश साह र निकी साह सदस्य रहेको विधान मस्यौदा समिति गठन गरिएको छ। समितिको कार्यमा रीना देवी र अजय कुमार साह साक्षीका रूपमा रहेका थिए।
नवनिर्वाचित अध्यक्ष महेश कुमार साहले समाजलाई संगठित,सक्षम र सामाजिक सेवामुखी संस्थाका रूपमा विकास गर्दै तेली समुदायको हकहित,शिक्षा,सामाजिक एकता र सशक्तीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा कोल्हवी तेली कल्याण समाजले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, हयोग र सुझावको अपेक्षा गरेको जनाएको छ।










