प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मौलापुरमा प्रदर्शन, प्रधानमन्त्रीको पुतला दहन

कोल्हवी न्यूज
२०८३ असार २५, बिहीबार १६:०८ गते

रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नखटाइएका कारण स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। बिहीबार उनीहरूले प्रधानमन्त्रीको पुतला दहन गर्दै संघीय सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

स्थानीयका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावले नगरपालिकाको बजेट कार्यान्वयन, विकास निर्माणका योजना, भुक्तानी प्रक्रिया तथा दैनिक सेवा प्रवाह प्रभावित बनेको छ। उनीहरूले संघीय सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेका छन्।

प्रदर्शनका क्रममा ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’, ‘तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाऊ’ र ‘अदालतको आदेश कार्यान्वयन गर’ जस्ता नारासमेत लगाइएका थिए।

यसअघि मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे जिम्मेवारी सम्हाल्न नआएपछि फिर्ता बोलाइएको थियो। त्यसयता नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउँदा प्रशासनिक काम प्रभावित हुँदै आएको स्थानीयको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर शिक्षकहरूले छ महिनादेखि तलब नपाएको, बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही र सरसफाइ कर्मचारीहरूले पनि भुक्तानी नपाएको गुनासो गरेका छन्।

नगर प्रमुख रिना साहले संघीय सरकारले नियोजित रूपमा प्रमुख प्रशासकीय अधिकृत नपठाएर स्थानीय तहलाई प्रशासनिक संकटमा पारेको आरोप लगाएकी छन्। उनले सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने भए पनि प्रमुख प्रशासकीय अधिकृतको अभावले कार्यान्वयनमा समस्या भएको बताइन्।

यद्यपि, प्रधानमन्त्रीको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस विषयमा समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*