बजेट संशोधनको माग गर्दै जसपाले अवरुद्ध गर्‍यो मधेस प्रदेशसभा बैठक

कोल्हवी न्यूज
२०८३ असार १७, बुधबार १५:३२ गते

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै मधेस प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।

बुधबार बसेको सातौँ अधिवेशनको १३औँ बैठक सुरु हुनासाथ जसपाका सांसदहरूले विरोध जनाउँदै सदनको कारबाही अवरुद्ध गरेका हुन्।

जसपाका सांसद उपेन्द्र महतोले सरकारले प्रस्तुत गरेको बजेटमा नीतिगत र प्राविधिक दुवै प्रकारका त्रुटि रहेको आरोप लगाए। सरकारले एक करोड रुपैयाँभन्दा कम लागतका योजना समावेश नगर्ने नीति सार्वजनिक गरे पनि बजेटमा १० लाख, २० लाख र ३५ लाख रुपैयाँका योजना राखिएको भन्दै उनले विरोध जनाए।

उनले एउटै शीर्षकअन्तर्गत धेरै साना योजना राखिएको, अधिकांश योजना मन्त्रालयमै केन्द्रित गरिएको र जिल्लास्थित कार्यालयलाई कार्यान्वयनको जिम्मेवारी नदिइएको आरोप लगाए। यसले बजेट कार्यान्वयन प्रभावकारी नहुने र संघीय शासन प्रणालीको मर्मसमेत कमजोर हुने उनको भनाइ थियो।

महतोले वर्तमान बजेटलाई “मन्त्रालयमुखी, सत्तामुखी र सत्तापक्षका सांसदमुखी” भएको टिप्पणी गर्दै बजेट संशोधन नभएसम्म प्रदेशसभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*