जनतामा परेको भ्रम चिर्दै अघि बढ्न कार्यकर्तालाई ओलीको निर्देशन

कोल्हवी न्यूज
२०८३ असार १७, बुधबार १८:१३ गते

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिगामी र फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्। उनले लोकतान्त्रिक मूल्य र संविधानविपरीतका प्रवृत्तिविरुद्ध सहकार्य गर्न सक्ने सबै शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताएका हुन्।

बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा सम्पर्क विशेष सङ्गठन कमिटीसँग गरिएको सुझाव सङ्कलन कार्यक्रममा बोल्दै ओलीले अहिले एमालेका लागि पार्टी एकीकरणभन्दा संगठन सुदृढीकरण र विस्तार प्राथमिकतामा रहेको बताए।

‘यतिबेला पार्टी एकीकरणको कुरा गर्ने अवस्था छैन। एमाले देशव्यापी संगठन, स्पष्ट नीति र महान् उद्देश्य बोकेको पार्टी भएकाले यसलाई अझ बलियो र व्यापक बनाउनुपर्छ,’ उनले भने।

ओलीले एमालेको नीति, विचार र उद्देश्य स्वीकार गरेर पार्टीमा आबद्ध हुन चाहने सबैका लागि ढोका खुला रहेको स्पष्ट पार्दै अहिले भने कुनै पार्टीसँग एकीकरणको चरणमा नरहेको बताए।

उनले आफ्नो नेतृत्वको सरकारले देशको विकास र जनताको हितमा ऐतिहासिक तथा असाधारण काम गरेको दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई आत्मविश्वासका साथ जनतामाझ पुगेर भ्रम चिर्न आग्रह गरे।

‘हामीले त्याग र तपस्या गरेका छौँ, कुनै गलत काम गरेका छैनौँ। हीनताबोध गर्नुपर्ने अवस्था छैन, भविष्य हाम्रै हो,’ उनले भने।

अध्यक्ष ओलीले गत वर्ष भदौ २३–२४ गते भएको घटनालाई पार्टीको कमजोरी नभई षड्यन्त्रकारीको योजनाबद्ध गतिविधि भएको दाबी गरे। त्यसबेला आफूहरू हमलाको शिकार भएको र सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको उनको भनाइ थियो।

कार्यक्रममा एमालेका उपाध्यक्ष तथा निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*