कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ प्रहरी देशकै उत्कृष्ट,एसएसपी दिलीप घिमिरेको नेतृत्वमा पहिलो स्थान
सञ्जय मिश्रा,काठमाडौं । नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी परिसर काठमाडौं देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको छ।
नेपाल प्रहरीले अपराध नियन्त्रण,शान्ति सुरक्षा,अनुसन्धान, फरार अभियुक्त पक्राउ,समुदाय–प्रहरी साझेदारी तथा नागरिकमैत्री सेवा प्रवाहलगायतका विभिन्न सूचकका आधारमा गरेको मूल्याङ्कनमा जिल्ला प्रहरी परिसर काठमाडौं अग्रस्थानमा परेको हो।
परिसरको नेतृत्व हाल एसएसपी दिलीप घिमिरे ले गरिरहेका छन्। उहाँको नेतृत्वमा अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रविधिमैत्री बनाउँदै प्रभावकारी रूपमा परिचालन गरिएको रणनीतिले उत्कृष्ट नतिजा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको प्रहरी स्रोतको भनाइ छ।
विशेषगरी इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम (EQRT),जीपीएसमा आधारित प्रहरी परिचालन,फरार अभियुक्त पक्राउ अभियान तथा अदालतका फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल भएको छ। लामो कैद सजायका फरार अभियुक्त पक्राउ र लाखौं रुपैयाँ जरिवाना असुलीमा समेत काठमाडौं प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
त्यसैगरी ज्यानसम्बन्धी अपराध,आर्थिक अपराध तथा महिला र बालबालिकासम्बन्धी मुद्दाको अनुसन्धानलाई प्रभावकारी बनाइएको छ। ‘हाम्रो प्रहरी’ अभियानमार्फत नागरिकसँगको प्रत्यक्ष संवाद, जनगुनासो सुनुवाइ तथा समुदाय–प्रहरी साझेदारीलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।
काठमाडौं प्रहरीको यो उपलब्धि केवल तथ्याङ्कमा सीमित छैन। पछिल्ला महिनाहरूमा प्रविधिको प्रयोग,छिटो प्रहरी परिचालन, फरार अभियुक्त पक्राउमा आक्रामक अभियान तथा सेवा प्रवाहमा सुधारका कारण परिसरको कार्यक्षमता थप प्रभावकारी बनेको देखिन्छ। प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्नु नेतृत्व,अनुशासन र टोलीगत समन्वयको प्रतिफलका रूपमा पनि हेरिएको छ।
यस सफलताले अन्य जिल्ला प्रहरी कार्यालयलाई पनि प्रविधिमैत्री र नतिजामुखी प्रहरी सेवा प्रवाहतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।









