रास्वपामा वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाउने तयारी

कोल्हवी न्यूज
२०८३ असार ४, बिहीबार १७:०० गते

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी प्रथम महाधिवेशनमार्फत ‘वरिष्ठ नेता’ पदलाई विधानमा समेट्ने र उक्त पदमा वालेन्द्र शाह लाई सर्वसम्मत चयन गर्ने तयारी गरेको छ।

बिहीबार बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्तावमा वरिष्ठ नेता पद थप्ने निर्णय गरेको स्रोतले जनाएको छ। पार्टीभित्र उक्त पदका लागि निर्वाचन नगरिने र स्वतः सर्वसम्मत चयनको व्यवस्था गरिने बताइएको छ।

पार्टीका एक नेताका अनुसार वरिष्ठ नेता पद कार्यकारी प्रकृतिको नहुनेछ। पूर्वसभापतिलाई समेत उक्त पदमा समेट्न सकिने विषयमा छलफल भए पनि हालका लागि स्वतः वरिष्ठ नेता बन्ने व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ।

गत निर्वाचनअघि बालेन समूह रास्वपामा समाहित भएपछि पार्टीले सभापति रवि लामिछाने पछिको वरीयतामा रहने गरी बालेनलाई वरिष्ठ नेताको भूमिकामा स्थापित गर्ने तयारी थालेको थियो।

यसैबीच, महाधिवेशनपछि पार्टीको संगठनात्मक संरचनामा पनि व्यापक विस्तार गरिने भएको छ। हाल २५ सदस्यीय रहेको सचिवालयलाई ३३ सदस्यीय बनाउने निर्णय गरिएको छ।

त्यस्तै, केन्द्रीय पदाधिकारीको संख्या १३ बाट बढाएर १९ पुर्‍याइने, सभापतिले मनोनयन गर्ने केन्द्रीय सदस्यको संख्या ५१ बनाइने तथा सात प्रदेश प्रतिनिधित्वसहित केन्द्रीय समितिको आकार १२९ बाट बढाएर १५८ सदस्यीय बनाइने प्रस्ताव महाधिवेशनमा प्रस्तुत गरिने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*