परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै

कोल्हवी न्यूज
२०८३ जेष्ठ ३१, आईतवार ०८:०६ गते

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन्। चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा हुने भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुनेछ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा मन्त्री खनालले चीनको राजधानी बेइजिङ मा विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ सरकारका उच्चस्तरीय अधिकारी तथा विशिष्ट व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि उनी सहभागी हुनेछन्।

उक्त सम्मेलनमा मन्त्री खनालले चिनियाँ व्यवसायी तथा लगानीकर्तासँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने स्वागत कार्यक्रममा सहभागी हुँदै उनले चीनमा रहेका नेपाली समुदायसँग समेत भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। नेपाल–चीन सम्बन्ध र आर्थिक सहकार्य विस्तारका दृष्टिले यो भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*