गुरुङ र पुन पुनः मन्त्री बन्दै, आज साँझ शपथ
प्रधानमन्त्री वालेन्द्र शाह को सिफारिसमा दुई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रामचन्द्र पौडेल समक्ष गृह मन्त्रालयका लागि सुधन गुरुङ र नवप्रवर्तन मन्त्रालयका लागि महावीर पुन को नाम पेश गरिएको हो।
राष्ट्रपतिको कार्यालयका अनुसार दुवै जनालाई मंगलबार अपराह्न ४:३० बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ। यसअघि शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको भए पनि समय परिवर्तन गरिएको बताइएको छ।
गुरुङ यसअघिको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। उनको सम्पत्तिसम्बन्धी विवाद सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइसकेको छ।
यस्तै, स्वतन्त्र सांसद पुनको पनि मन्त्री पदमा पुनरागमन हुन लागेको हो। उनी यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा रहेका थिए।
मन्त्री नियुक्तिको सिफारिस मंगलबार नै राष्ट्रपतिसमक्ष पठाइएको हो भने शपथसँगै दुवै जना औपचारिक रूपमा मन्त्रिपरिषद्मा सहभागी हुनेछन्।











