मधेसलाई बजेटमा बेवास्ता गरिएको भन्दै अमरेश सिंहको आक्रोश
बारा, ०५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारद्वारा संसद्मा पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले मधेस क्षेत्रका समस्या र विकासलाई सरकारले पूर्ण रूपमा उपेक्षा गरेको भन्दै विरोध जनाएका हुन् । विशेष गरी मधेसका लागि बजेटका सिद्धान्तमा कुनै ठोस शब्द वा योजना उल्लेख नगरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद सिंहले ऐतिहासिक महत्त्व बोकेको हुलाकी राजमार्गको निर्माण कार्य अझैसम्म अलपत्र परेको भन्दै आक्रोश व्यक्त गरे । राणाकालदेखि सुरु भएको उक्त राजमार्ग अहिलेसम्म सम्पन्न हुन नसकेको र वर्तमान विधेयकमा ‘हुलाकी’ भन्ने शब्दसमेत उच्चारण नगरिएकोमा उनले आपत्ति जनाए । कतै पुल त कतै सडक नै नभएको जीर्ण अवस्था उल्लेख गर्दै उनले देशकै लाइफलाइन मानिएको आयोजनाप्रति सरकार उदासीन बनेको आरोप लगाए ।
मधेस क्षेत्र हाल चरम उपेक्षाका कारण ‘विस्फोट’को अवस्थामा पुगेको दाबी गर्दै उनले सरकारलाई बेलैमा सचेत गराएका छन् । परिस्थिति नियन्त्रण बाहिर जानुअघि नै सरकारले यसको उचित सम्बोधन र उपचार खोज्नुपर्ने उनको भनाइ थियो । निर्वाचनमा मधेसका जनताले वर्तमान सरकारलाई सबैभन्दा बढी मत दिएर जिताए पनि प्रतिफलमा मधेसले केवल उपेक्षा मात्र पाएको भन्दै उनले राजनीतिक नेतृत्वप्रति असन्तुष्टि पोखे ।
विभिन्न विकास सूचकाङ्कहरूमा मधेसको अवस्था कर्णाली प्रदेशको भन्दा पनि कमजोर रहेको औँल्याउँदै सिंहले मधेसका लागि विशेष प्याकेजको माग गरे । विकास भूगोलका लागि नभई जनताका लागि हुने स्पष्ट पार्दै उनले मधेसको समग्र उत्थानका लागि सरकारले विशेष खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सरकारमाथि मधेसको पूर्ण अधिकार रहेकाले बजेटमा मधेसका मुद्दालाई प्राथमिकताका साथ समेट्न उनले आग्रह गरे ।










