पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता पुनः प्रदान

कोल्हवी न्यूज
२०८३ जेष्ठ ५, मंगलवार ०७:३५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा आज बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई औपचारिक रूपमा पार्टी सदस्यता प्रदान गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले अहिले सदस्यता दिने निर्णय मात्रै भएको र नेतृत्वसम्बन्धी विषय भविष्यमा तय हुने बताएका छन्। उनले भण्डारीलाई कुन जिम्मेवारी दिने भन्ने निर्णय पार्टीले आवश्यकता अनुसार गर्ने स्पष्ट पारे।

बैठकमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचन परिणाम, वर्तमान राजनीतिक अवस्था तथा सरकारको कार्यशैलीबारे समीक्षात्मक धारणा राखेको पनि भट्टले जानकारी दिए।

सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयता निर्धारण, सदस्यता नवीकरण तथा विस्तार, कार्यविभाजन, सरकारको कामकारबाही समीक्षा लगायत विषयमा छलफल भएको थियो। एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको निष्कर्षसमेत निकालेको जनाएको छ।

त्यसैगरी संविधान संशोधन सुझाव कार्यदल, चुनावी समीक्षा प्रतिवेदन तयारी कार्यदल, केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन तथा सङ्गठन विभाग विस्तारका विषयमा पनि बैठकमा छलफल भएको एमालेले जनाएको छ।

एमाले सचिवालयको अर्को बैठक आगामी जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमै बस्ने तय गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*