प्रधानन्यायाधीश सिफारिस विवाद : अदालतको आदेशमै अड्कियो रिट, संसदीय सुनुवाइ भने तीव्र

कोल्हवी न्यूज
२०८३ जेष्ठ ५, मंगलवार ०७:१६ गते

सर्वोच्च अदालतको आगामी ३३औँ प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मालाई पदबहाली गराउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। एकातर्फ अदालतभित्रै रिट दर्ता विवाद चुलिएको छ भने अर्कोतर्फ संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

संवैधानिक परिषद्ले वरीयता मिचेर शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै दायर भएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले स्पष्ट आदेश दिएकी थिइन्। तर सर्वोच्च अदालत प्रशासनले उक्त आदेश कार्यान्वयन नगरेपछि न्यायपालिकाभित्रै विवाद थप गहिरिएको छ।

चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापालगायतले रिट दायर गरेका थिए। अदालत प्रशासनले रिट ‘दरपीठ’ गरेपछि त्यसविरुद्ध पुनः निवेदन दिइएको थियो।

सोही निवेदनमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश मल्लले सोमबार दिउँसो १ बजेसम्म सबै रिट दर्ता गरी सोही दिन पेसी चढाउन लिखित आदेश जारी गरेकी थिइन्। आदेशमा अदालत प्रशासनले न्यायमा पहुँच रोक्नु न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रहार भएको उल्लेख गरिएको छ।

मुख्य रजिष्ट्रारसँगको छलफलमा ‘डा. शर्माकै निर्देशनमा निवेदन रोकिएको’ खुलेको दाबीसमेत आदेशमा गरिएको छ। संविधानको धारा १३६ अनुसार आफूलाई प्राप्त विशेष अधिकार प्रयोग गर्दै मल्लले आदेश दिए पनि कार्यालय समयभित्र रिट दर्ता नगरिएको बताइएको छ।

अधिवक्ता प्रेमराज सिलवालले दिनभर अदालतमा बस्दा पनि रिट दर्ता नभएको र प्रशासनले फाइल अल्झाएर राखेको आरोप लगाएका छन्।

उता, सिंहदरबारमा भने प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया तीव्र बनाइएको छ। उनीविरुद्ध १६ वटा उजुरी दर्ता भइसकेका छन्। संसदीय सुनुवाइ समितिले ती उजुरी अध्ययन गरी आजै निर्णयार्थ पेस गर्ने तयारी गरेको जनाएको छ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार उजुरीकर्तासँग छलफलपछि समितिले अनुमोदन प्रक्रिया अघि बढाउनेछ।

हाल समितिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बलियो रहेकाले शर्माको नाम अस्वीकृत हुने सम्भावना न्यून देखिएको छ। समितिबाट अनुमोदन भएमा उनले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*