हर्क साम्पाङको प्रस्ताव: ‘सिंहदरबारका जलेका भवन श्रमदानबाट पुनर्निर्माण गर्छौँ’
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रि–बजेट छलफलका क्रममा बोल्दै हर्क साम्पाङले सिंहदरबारभित्र जेनजी आन्दोलनका क्रममा जलेका भवनहरूको पुनर्निर्माणको जिम्मा आफूहरूलाई दिन सरकारसँग आग्रह गरेका छन्।
उनले जनशक्तिको सहयोग र श्रमदानमार्फत ती संरचनाहरू पुनर्निर्माण गरेर देखाउने दाबी गरे। “यदि जिम्मेवारी दिइयो भने, हामी श्रमदानबाट जलेका भवन फेरि निर्माण गर्न सक्छौँ,” उनले बताए।
साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित विभिन्न जिल्लामा विकास निर्माणका योजनाका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन्। जनताको प्रत्यक्ष सहभागिताबाट विकास सम्भव हुने उल्लेख गर्दै उनले श्रम संस्कृतिलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।










