जसपा–लोसपा एकतामा ह्रदयश त्रिपाठीको असन्तुष्टि, ‘सैद्धान्तिक स्पष्टता बिना गरिएको एकता आत्मघाती’

कोल्हवी न्यूज
२०८३ जेष्ठ ३, आईतवार १५:३० गते

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच सम्पन्न पार्टी एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी ले असन्तुष्टि जनाएका छन्। उनले दुई दलबीचको एकतालाई सकारात्मक कदम माने पनि प्रक्रिया अपारदर्शी र असहमतिको विषय बेवास्ता गरिएको आरोप लगाएका हुन्।

त्रिपाठी लोसपासँगको सहकार्यपछि जसपा नेपालको एकता प्रक्रियामा सहभागी भएका थिए। तर निर्वाचन आयोगले उनको पार्टीलाई औपचारिक रूपमा समावेश नगरेपछि विवाद सार्वजनिक भएको हो। जसपा नेपालका नेताहरूका अनुसार त्रिपाठीले आफ्नो जनता प्रगतिशील पार्टी विघटन नगरेकाले कानुनी जटिलता उत्पन्न भएको हो।

अध्यक्ष त्रिपाठीले भने लोसपासँगको एकता प्रक्रिया आफ्नै पार्टी र तमलोपाको पहलमा अघि बढेको दाबी गरेका छन्। सङ्घीय लोकतान्त्रिक मोर्चा गठनदेखि पार्टी एकतासम्म आफ्नो भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।

उनले जसपा–लोसपा एकता प्रक्रियामा आफूहरूलाई जानकारी नदिई निर्णय गरिएको आरोप लगाउँदै निर्वाचनको मुखमा हतारमा गरिएको प्रक्रिया स्वीकार्य नभएको बताएका छन्। घोषणापत्र सार्वजनिक भएपछि मात्रै आफूहरूले गम्भीर असहमति प्रकट गरेको उनले उल्लेख गरेका छन्।

त्रिपाठीले जसपा नेपालको घोषणापत्रमा समावेश गरिएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामाथि पनि प्रश्न उठाएका छन्। यस्तो प्रणाली कम्युनिष्ट विचारधाराबाट प्रभावित रहेको टिप्पणी गर्दै उनले अल्पसङ्ख्यक समुदायका लागि जोखिमपूर्ण हुन सक्ने बताएका छन्।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे समेत उनले असहमति राखेका छन्। सैद्धान्तिक विषयहरूमा स्पष्ट सहमति नहुँदै गरिएको एकताले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने उनको चेतावनी छ।

यसअघि त्रिपाठी जसपा नेपालको घोषणापत्र लिएर निर्वाचनमा सहभागी भएका थिए। गत पुस २७ गते गठन गरिएको एकीकृत जसपा नेपालको ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा पनि उनको नाम समावेश गरिएको थियो। उनी र उनका समर्थक नेताहरू समितिको बैठकमा सहभागी हुँदै आएका थिए।

तर निर्वाचन आयोगले एउटै व्यक्ति दुई फरक पार्टीमा आबद्ध रहन नमिल्ने भन्दै जसपा नेपाललाई पत्र पठाएपछि विवाद थप चर्किएको हो। जसपा नेपालका नेताहरूले त्रिपाठीलाई आफ्नो पुरानो पार्टी औपचारिक रूपमा बन्द गर्न आग्रह गरे पनि उनले अस्वीकार गरेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*