मधेसको सत्ता समीकरणमा जसपा नेपालको ‘पर्ख र हेर’ नीति
जनता समाजवादी पार्टी नेपाल भित्र मधेस प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा आन्तरिक विवाद देखिएको छ। मुख्यमन्त्री कृष्ण यादव ले जेठ ८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला पार्टी भने साझा निष्कर्षमा पुग्न सकेको छैन।
शुक्रबार बसेको मधेस प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन बनेपछि विश्वासको मत लिने समयसमेत फेरबदल गर्नुपरेको बताइएको छ। पार्टीका २६ सांसदमध्ये अधिकांशले तत्काल सरकारमा सहभागी हुनु उपयुक्त नहुने धारणा राखेका छन्। तर सरकारमा जाने अवस्था बने नेतृत्व भने आफ्नै पार्टीले गर्नुपर्ने अडान उनीहरूको छ।
बैठकमा पूर्वमुख्यमन्त्री लालबाबु राउत लगायत केही नेताले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा मत राखेका थिए। सरकारमा रहेका मनिष सुमन, रानी शर्मा तिवारी र राजु गुप्ताले नीति तथा कार्यक्रम तथा बजेट निर्माणकै समयमा सरकार परिवर्तनको बहस उपयुक्त नहुने बताएका छन्।
लालबाबु राउतले हालको परिस्थितिअनुसार मुख्यमन्त्री कृष्ण यादवलाई समर्थन गर्ने सहमति नजिक पुगेको संकेत गरे पनि जेठ ८ गतेसम्म राजनीतिक समीकरण परिवर्तन हुन सक्ने सम्भावना खुला रहेको बताएका छन्।
यता पार्टीभित्रको अर्को समूह भने सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ। पूर्वमुख्यमन्त्री सरोज यादव ले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै वर्तमान नेतृत्वको कार्यसम्पादन कमजोर रहेको टिप्पणी गरेका छन्।
प्रदेशसभा सदस्य जैनुल राइनले अन्तिम निर्णय पार्टी केन्द्रको निर्देशनअनुसार हुने बताएका छन्। प्रदेशस्तरमा छलफल जारी रहे पनि अन्तिम निर्णय शीर्ष नेतृत्वबाट हुने उनको भनाइ छ।
यसैबीच, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच एकता प्रक्रिया अघि बढेसँगै मधेस प्रदेश संसदीय दलको नेतृत्वका लागि नेताहरूबीच दौडधुप पनि तीव्र बनेको छ।










