लालपूर्जा नपाएसम्म सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
सरकारले वास्तविक सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपूर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको जनाएको छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले सुकुम्बासी व्यवस्थापनसम्बन्धी प्रगतिबारे जानकारी दिँदै यस्तो योजना सार्वजनिक गरेका हुन्।
समिति सभापति हरि ढकाल का अनुसार शहरी विकास मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले हालसम्मको कार्यप्रगति प्रस्तुत गर्दै घरभाडा सहयोग योजनाबारे जानकारी गराएका थिए।
सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन नागरिकहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ प्रक्रिया सञ्चालन गरिरहेको जनाएको छ। उक्त प्रक्रिया सम्पन्न भएपछि ‘फास्ट ट्रयाक’ प्रणालीमार्फत लालपूर्जा वितरण गर्ने लक्ष्य राखिएको छ।
शहरी विकास मन्त्रालयले घरभाडा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी दिएको छ।
त्यस्तै, होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको तथा सुत्केरी महिलाहरूका लागि पोषणसम्बन्धी आवश्यक सुविधा मिलाइएको सरकारी पक्षको दाबी छ।
सभापति ढकालले काठमाडौंमा रहेका भूमिहीनहरूको यथार्थ पहिचानका लागि स्क्रिनिङ कार्य जारी रहेको उल्लेख गर्दै लालपूर्जा वितरण नहुँदासम्म घरभाडा सहयोग उपलब्ध गराउने तयारी भएको बताए।
सरकारले प्रस्तुत गरेको विवरणको वास्तविक अवस्था बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ।










