मधेशमा कुपोषण अझै गम्भीर चुनौती : प्रभावकारी समन्वय आवश्यक रहेको सभामुख यादवको भनाइ
मधेश प्रदेशसभाका सभामुख रामआशिष यादव ले मधेश प्रदेशमा कुपोषण न्यूनीकरण तथा मातृ–शिशु स्वास्थ्य सुधारका लागि सबै तहबीच मजबुत सहकार्य आवश्यक रहेको बताएका छन्।
लालगढमा आयोजित तीनदिने प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलनको समापन कार्यक्रममा उनले पोषणको विषय केवल स्वास्थ्यसँग मात्रै सम्बन्धित नभई शिक्षा, कृषि, खानेपानी, सरसफाइ र सामाजिक चेतनासँग समेत जोडिएको उल्लेख गरे। त्यसैले बहुआयामिक ढंगले योजनाबद्ध काम गर्नुपर्ने उनको भनाइ थियो।
सभामुख यादवले मधेश प्रदेशमा महिला र बालबालिकामा कुपोषण अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै दीर्घकालीन नीति, व्यवहारिक योजना तथा प्रभावकारी कार्यान्वयनमार्फत मात्र सुधार सम्भव हुने बताए।
कार्यक्रममा प्रदेशसभा अन्तर्गत महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादव ले महिला स्वास्थ्य, बालअधिकार र पोषण सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। उनले ग्रामीण तथा विपन्न समुदायमा पोषणसम्बन्धी चेतनाको कमी अझै देखिएकाले स्थानीय तहसँग सहकार्य गरेर जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताइन्।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव ले गरिबी, अशिक्षा, असन्तुलित खानपान र बढ्दो जनसङ्ख्याका कारण कुपोषणको समस्या जटिल बन्दै गएको बताए।
सम्मेलनमा खाद्य सुरक्षा, किशोरी पोषण, मातृ तथा शिशु स्वास्थ्य र पोषणमैत्री नीति कार्यान्वयनलगायत विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ।










