चिया निर्यात रोकिँदा संसद् चिन्तित, भारतसँग तत्काल कूटनीतिक पहल गर्न सरकारलाई दबाब
प्रतिनिधि सभाका सांसदहरूले भारततर्फको चिया निर्यात अवरुद्ध हुँदा किसानदेखि उद्योगीसम्म गम्भीर संकटमा परेको भन्दै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न दबाब दिएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चिया उद्योग संकटमा परिरहेको उल्लेख गर्दै निर्यात सहज बनाउन भारत सरकारसँग उच्चस्तरीय संवाद गर्न माग गरेका हुन्।
सांसद सुहाङ नेम्वाङ ले टी बोर्ड अफ इन्डियाको पछिल्लो नीतिका कारण नेपाली चिया निर्यात लगभग ठप्प बनेको बताए। उनका अनुसार यसले चिया किसान, श्रमिक, उद्योगी र निर्यातकर्तामाथि प्रत्यक्ष असर पारिरहेको छ।
उनले सरकारलाई भारतसँग तत्काल वार्ता गरेर निर्यातमा देखिएको अवरोध हटाउन र चिया क्षेत्र जोगाउन दीर्घकालीन नीति ल्याउन आग्रह गरे। संसद्मा बोल्दै उनले चिया उद्योग संकटमा जाँदा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने चेतावनी दिए।
यस्तै, सांसद सुनिल केसी ले किसानले समयमै मल नपाइरहेको विषय उठाउँदै कृषि क्षेत्रमा सरकार अझ जिम्मेवार हुनुपर्ने बताए। उनले काठमाडौँवासीले अझै नियमित रूपमा मेलम्चीको पानी कहिले पाउने भन्ने प्रश्नसमेत सरकारसमक्ष राखे।
तीनकुने क्षेत्रको सार्वजनिक जग्गा लामो समयदेखि कब्जामा रहेको विषयमा पनि उनले सरकारको आलोचना गरे। राज्यकै सम्पत्ति संरक्षणमा सरकार कमजोर देखिएको उनको टिप्पणी थियो।
त्यसैगरी सांसद सुरेशकुमार चौधरी ले भारतीय सीमावर्ती गाउँहरू विकासबाट पछाडि परेको गुनासो गरे। उनले विशेषगरी बर्दिया र बाँके का सीमा क्षेत्रका बासिन्दाले सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता आधारभूत सेवा नपाएको बताए।
सीमावर्ती बस्तीहरू राज्यको प्राथमिकताबाट बाहिर परेको भन्दै उनले त्यहाँ तत्काल पूर्वाधार विस्तार गर्न सरकारसँग माग गरे।










