आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन, सरकारी कार्यालयमा विशेष मापदण्ड लागू
काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकाय तथा सार्वजनिक शैक्षिक संस्थाहरू यस अभियानमा सहभागी हुनेछन् । प्रधानमन्त्री सचिवालयका अनुसार अभियानलाई प्रभावकारी बनाउन सबै निकायलाई सक्रिय रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
अभियानको औपचारिक उद्घाटन बिहान ८:३० बजे काठमाडौँस्थित वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा गरिएको छ ।
मार्गदर्शनमा सरकारी कार्यालयहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड लागू गर्ने लक्ष्य राखिएको छ । नियमित सरसफाइ अभावका कारण सेवा प्रवाह र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा असर परिरहेको सन्दर्भमा यो कार्यक्रम अघि सारिएको हो ।
सरकारी कार्यालयमा सूचना बोर्ड, नागरिक वडापत्र तथा संकेत चिह्नहरू स्पष्ट र व्यवस्थित राख्नुपर्ने, भित्ताको मर्मत तथा रङरोगन गर्नुपर्ने, मुख्य सेवा क्षेत्र र प्रवेशद्वार सफा र आकर्षक बनाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, शौचालयलाई दुर्गन्धरहित राख्ने, नियमित पानी र साबुनको व्यवस्था गर्ने, दैनिक सरसफाइको अभिलेख राख्ने तथा महिलामैत्री र अपाङ्गतामैत्री संरचना बनाउने प्रावधानसमेत समावेश गरिएको छ ।
फोहोर व्यवस्थापनका लागि कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाउने तथा पुराना सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, कार्यालय परिसरको वरिपरि सफाइ, पार्किङ क्षेत्र सुधार, अव्यवस्थित तार तथा पोस्टर हटाउने र सेवाग्राहीका लागि ‘हेल्प डेस्क’ सञ्चालन गर्नुपर्ने निर्देशन दिइएको छ ।
अभियानलाई दीर्घकालीन बनाउन प्रत्येक निकायमा सरसफाइ सम्पर्क व्यक्ति तोक्ने, नियमित कार्यतालिका बनाउने र मासिक स्व–मूल्यांकन गर्ने व्यवस्था गरिएको छ । कार्यान्वयन र अनुगमनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ ।










