राष्ट्रपतिद्वारा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति Ram Chandra Paudel ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि दिउँसो २ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्ने तय भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गराउने निर्णय गरेको थियो ।
विगतमा प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याउने अभ्यास रहे पनि अघिल्लो वर्ष भने नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि मात्रै प्रि–बजेट छलफल गरिएको थियो ।
संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम तथा प्रि–बजेट छलफल प्रक्रिया सम्पन्न गरिनेछ ।










