सांसदलाई प्रभावकारी बनाउन रास्वपाको दुईदिने संसदीय प्रशिक्षण सुरु
२६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि दुईदिने संसदीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। प्रतिनिधिसभामा पार्टीको भूमिका थप प्रभावकारी, जिम्मेवार र व्यवस्थित बनाउने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ।
काठमाडौंमा सञ्चालन भइरहेको उक्त कार्यक्रम पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको हो। प्रशिक्षणमा संसदीय प्रक्रिया, कानुन निर्माणमा सांसदको भूमिका, संसदीय आचरण तथा पार्टीका नीतिगत विषयमा छलफल हुने बताइएको छ।
रास्वपाका प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्य ले सांसदहरूलाई समसामयिक राजनीतिक विषय, संसदीय अभ्यास तथा विधायी प्रक्रियाबारे थप जानकारी दिन कार्यक्रम उपयोगी हुने बताए। उनले संसद्मा जनताका मुद्दा प्रभावकारी रूपमा उठाउन र संसदीय मर्यादा कायम राख्न यस्ता प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सञ्चालन भइरहेको प्रशिक्षण बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ। कार्यक्रममा पार्टीले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको जनाएको छ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आफ्ना जनप्रतिनिधिको क्षमता अभिवृद्धि र संसद्मा प्रभावकारी उपस्थितिलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।









