जनमत पार्टीद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सत्ता समीकरणको चर्चा तीव्र
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने तथा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
पार्टीका महासचिव चन्दन सिंहका अनुसार कांग्रेस नेतृत्वको सरकारले सत्ता साझेदार दलहरूसँग आवश्यक समन्वय नगरेको, विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको तथा नीति तथा कार्यक्रम कार्यान्वयनमा असफल भएको भन्दै समर्थन फिर्ता लिइएको हो।
हाल मधेस प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा नेकपा सहभागी छन्। राजनीतिक वृत्तमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि चाँडै सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने चर्चा भइरहेको छ।
जनमत पार्टीसँगै जसपा नेपालले पनि समर्थन फिर्ता लिए कांग्रेस नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने सम्भावना देखिएको छ। त्यसपछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने आकलन गरिएको छ।
स्रोतका अनुसार मधेस केन्द्रित केही दलहरूले नयाँ सरकार गठनका लागि विभिन्न दलसँग छलफल तीव्र बनाएका छन्। यद्यपि एमालेले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तर समर्थन गरे वर्तमान सरकार टिक्न सक्ने सम्भावना पनि रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।











