सीमा विवादमा सरकारको अडान स्पष्ट, कूटनीतिक समाधानमा जोड
शिक्षामन्त्री सस्मित पोखरेल ले सीमा विवादका विषयमा नेपाल सरकारको अडान स्पष्ट रहेको बताएका छन्। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले विवादित क्षेत्र नेपालकै भूमि भएको दोहोर्याए।
मन्त्री पोखरेलका अनुसार सरकारले उक्त विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने नीति लिएको छ। परराष्ट्र मन्त्रालय ले यसअघि नै आफ्नो धारणा समेटिएको ‘नोट’ जारी गरिसकेको र त्यसको जवाफमा भारत ले पनि संवाद र सहकार्यमार्फत समाधान खोज्ने संकेत दिएको उनले जानकारी दिए।
‘दुई देशबीचको सहकार्यबाटै यसको समाधान खोजिनेछ,’ मन्त्री पोखरेलले भने।
सरकारले सीमा सम्बन्धी विषयलाई संवेदनशील रूपमा लिँदै आपसी समझदारी र कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान निकाल्ने प्रतिबद्धता जनाएको छ।











