सुकुम्बासी हटाउने शैलीप्रति राप्रपा अध्यक्ष लिङ्देनको कडा आपत्ति

कोल्हवी न्यूज
२०८३ बैशाख १९, शनिबार १०:५० गते

राजेन्द्र लिङ्देनले सुकुम्बासी बस्ती तथा अतिक्रमित संरचना हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विकासको नाममा मानवीय संवेदना, धार्मिक आस्था र सामाजिक यथार्थलाई बेवास्ता गरिएको आरोप लगाए।

उनले सार्वजनिक जग्गा खाली गर्ने प्रक्रियामा देखिएको हतारोप्रति प्रश्न उठाउँदै सम्पत्तिभन्दा आस्थामाथिको आघात अझ गम्भीर विषय भएको बताएका छन्। विशेषगरी बुद्ध जयन्तीजस्तो पवित्र अवसरमा गुम्बा भत्काइएको तथा मन्दिर र विद्यालयमा हस्तक्षेप गरिएकोप्रति उनले आपत्ति जनाए।

“मन्दिर, विद्यालय र गुम्बा सार्वजनिक स्थलमै हुनु स्वाभाविक हो,” उनले उल्लेख गर्दै यसप्रति सरकार संवेदनशील नदेखिएकोमा दुःख व्यक्त गरे।

सरकारको कदमलाई अपूरो तयारीको परिणामको रूपमा व्याख्या गर्दै लिङ्देनले विकासको मूल उद्देश्य मानव जीवन सहज बनाउनु हुनुपर्ने धारणा राखे। “विकास जीवनका लागि हो, जीवन विकासका लागि होइन,” भन्ने उनको भनाइ छ। बासस्थान गुमाउँदा मानिसहरू चरम निर्णयतर्फ धकेलिनु राज्यको असफलता भएको उनले टिप्पणी गरे।

इतिहास, धर्म र परम्पराको संरक्षणसहित अघि बढ्ने विकास मात्र दिगो हुने तर्क गर्दै उनले बल प्रयोग र हतारोको नीति त्याग्न सरकारलाई आग्रह गरेका छन्।

राप्रपाले सुकुम्बासी व्यवस्थापनका नाममा अपनाइएको कठोर शैलीले समाजमा असुरक्षा र निराशा बढाएको दाबी गर्दै सरकारलाई संयमित र विवेकपूर्ण ढंगले समस्या समाधान गर्न चेतावनी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*