दोस्रो चरणअन्तर्गत आजदेखि उपत्यकाका सहायक नदी किनारमा रहेका सुकुमवासी बस्तीमा डोजर चलाइँदै

सुकुमबासी बस्ती
काठमाडाैँ, १२ वैशाख
काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : किरणराज विष्ट / रासस
सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्तीमा आज डोजर चलाउँदैछ ।
पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्तीमा डोजर चलाइ भत्काएपछि आजदेखि दोस्रो चरणको काम अघि बढाइएको हो ।
आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् । बस्ती खाली गर्ने सूचनालाई अटेर गरी बस्दा कुनै क्षति भएमा त्यसको जिम्मेवार स्वयं हुने चेतावनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई दिन अगाडि विज्ञप्ति जारी गर्दै शुक्रबार विहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो । उक्त प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार सहरी विकास मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो । सो बैठकले बस्ती स्थानान्तरणको आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसाबास भइआएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरुबाट सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सहरी विकास मन्त्रालयका अनुसार जोखिमयुक्त बस्ती स्थान्तरणलाई सहज बनाउन त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पुर्याइनेछ । रङ्गशालामा तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन् । पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्वासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ ।
त्यसैगरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामानजस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायले सहयोग गर्नेछन् । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन यातायातको व्यवस्था गरिएको छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासीहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेको देखिएको थियो । सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।
विपद्को उच्च जोखिममा रहेका ती बस्तीहरू आज शुक्रबार बिहान ७ बजेदेखि खाली गर्ने कार्य सुरु हुने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए।









