रौतहटमा अधुरा पुलप्रति सांसद पटेलको आक्रोश, ठेक्का रद्द गर्ने चेतावनी
रौतहट, १७ वैशाख — रौतहट निर्वाचन क्षेत्र नं. ३ मा निर्माणाधीन आधा दर्जनभन्दा बढी पक्की पुल वर्षौँदेखि अधुरै रहेको पाइएको छ। स्थलगत निरीक्षणका क्रममा सांसद रवीन्द्र पटेल ले निर्माण ढिलाइप्रति असन्तुष्टि जनाउँदै अब ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन्।
बुधबार स्थानीयवासीसँग छलफल गर्दै उनले जनजीवनसँग प्रत्यक्ष जोडिएका यस्ता संरचना लामो समयसम्म अलपत्र रहनु गम्भीर लापरबाही भएको बताए। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने र आवश्यक परे ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएका छन्।
“अब कुनै बहाना हुँदैन, तोकिएको समयभित्र काम सम्पन्न हुनैपर्छ,” उनले भने, “अन्यथा ठेक्का रद्द गरेर वैकल्पिक व्यवस्था गरिनेछ।”
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पुल निर्माणमा ढिलाइ हुनुको मुख्य कारण ठेकेदार कम्पनीको लापरबाही हो। चार वटा ठूला पुलसहित आधा दर्जनभन्दा बढी संरचना अझै अधुरै छन्।
गुजरा नगरपालिका–१ कोठियारस्थित कोठियार–ब्रह्मटोल तथा रङ्गपुर–लमहा खोला पुल २०७३ सालदेखि निर्माणाधीन भए पनि प्रगति करिब ५० प्रतिशतमा सीमित छ। तरही खोला र नमाहा खोला पुलको काम पनि करिब ४५ प्रतिशतमै रोकिएको छ। कतिपय पुलमा सब–स्ट्रक्चर सम्पन्न भए पनि सुपर स्ट्रक्चर निर्माण अझै सुरु हुन सकेको छैन।
यस्तै, बालचनपुर–जङ्गलसैया सडकअन्तर्गत लमहा नदी पुलको प्रगति ५३ प्रतिशत पुगेको भए पनि निर्माण गति सुस्त रहेको छ।









