मलङ्वामा दादुरा फैलिँदा खोप अभियान तीव्र, ८ हजार बालबालिकालाई लक्षित
सर्लाहीको मलङ्वा नगरपालिकामा दादुरा सङ्क्रमण देखिएपछि स्वास्थ्य निकायले खोप अभियान तीव्र बनाएको छ। हालसम्म २३ जना बालबालिकामा दादुरा पुष्टि भएपछि प्रभावित क्षेत्रका बालबालिकालाई लक्षित गरी विशेष खोप अभियान सुरु गरिएको हो।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार मलङ्वा नगरपालिका–३ मा पहिलो पटक दादुरा देखिएको हो। त्यसपछि जोखिम बढ्न सक्ने भन्दै वडा नं २, ४, ८, ९ र १० समेत गरी कुल ६ वटा वडामा ६ महिनादेखि १५ वर्षसम्मका करिब ८ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य राखिएको छ। खोप अभियान अस्ति सोमबारदेखि सुरु भइसकेको छ।
गत पुस २४ गते मलङ्वा–३ स्थित मुस्लिम टोलका पाँच वर्षका एक बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमूना परीक्षणका लागि टेकु, काठमाण्डौ पठाइएको थियो। प्रयोगशाला परीक्षणबाट दादुरा पुष्टि भएपछि सङ्क्रमित बालकको सम्पर्कमा आएका अन्य बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा थप २२ जनामा पनि सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सङ्क्रमित सबै बालबालिका ६ महिनादेखि ११ वर्ष उमेर समूहका छन्।
परिवार कल्याण महाशाखा टेकुको निर्देशन र राष्ट्रिय खोप समन्वय समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिएको हो। खोपसँगै सम्भावित सङ्क्रमितको पहिचानका लागि खोजी अभियान पनि चलाइएको छ। दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न स्वास्थ्यकर्मीले घरदैलो अभियानमार्फत जानकारी गराइरहेका छन्।
नगर स्वास्थ्य शाखाका अनुसार स्वास्थ्यकर्मीको टोली विद्यालय र मदरसामा पुगेर खोप लगाइरहेको छ। हालसम्म ३ हजार ५ सय ४५ जना बालबालिकाले खोप पाइसकेका छन्।
स्वास्थ्यकर्मीका अनुसार दादुरा अत्यन्त सङ्क्रामक रोग हो। एक जना सङ्क्रमित व्यक्तिबाट १२ देखि १८ जनासम्ममा रोग सर्न सक्ने जोखिम हुन्छ। यो रोग हाच्छ्युँ गर्दा, खोक्दा तथा सङ्क्रमित व्यक्तिले नाक–मुख छोपेर हात नधुँदा श्वासप्रश्वासको माध्यमबाट सजिलै फैलिन सक्छ।
दादुरा प्रायः बालबालिकामा देखिने भए पनि जुनसुकै उमेरका व्यक्तिमा पनि सर्न सक्ने खतरा रहेको स्वास्थ्यकर्मीको भनाइ छ। दादुराबाट बच्न बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक खोप लगाउनुपर्ने हुन्छ। खोप छुटेका बालबालिकामा दादुरा लाग्ने जोखिम उच्च हुने स्वास्थ्य कार्यालयले जनाएको छ।










