बीरगन्जमा हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिदै, ११४ जनामा पुष्टि

कोल्हवी न्यूज
२०८२ भाद्र ११, बुधबार १०:२६ गते

पर्साको बीरगन्जमा हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म ११४ जनामा हैजा पुष्टि भएको छ।

अहिले बीरगन्जका विभिन्न अस्पतालमा १९९ जनाको उपचार भइरहेको छ। तीमध्ये केहीमा गम्भीर लक्षण देखिएका छन्। उपचारपछि हालसम्म २२३ जना बिरामी डिस्चार्ज भएका छन्।

स्वास्थ्य कार्यालयका तथ्याङ्कअनुसार, झाडापखालाका बिरामी लिएर अस्पताल पुगेकाको संख्या ४२२ पुगेको छ। दूषित खानेपानी नै हैजा फैलनुको प्रमुख कारण भएको आशङ्का गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १० पानीका नमुनामध्ये ८ मा हैजा पुष्टि भएको छ। बाँकी दुई नमुनाको रिपोर्ट आउन बाँकी छ।

संक्रमण बढ्दै गएपछि बीरगन्ज महानगरपालिकाले मातहतका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। शिक्षक तथा कर्मचारीलाई जनचेतनामूलक अभियानमा सक्रिय हुन आग्रह गरिएको छ।

महानगर र स्वास्थ्य निकायले संयुक्त रूपमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम चलाइरहेका छन्। चिकित्सकहरूले स्थानीयलाई पानी उमालेर मात्र पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*