कोरोना संक्रमण ह्वात्तै बढ्यो, जोखिम उच्च हुँदै

कोल्हवी न्यूज
२०७८ पुष २४, शनिबार ०६:३८ गते

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विश्वभरि नै फैलिरहेको छ ।

नेपालमा पनि थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूले सचेत हुन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले समेत सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । अक्सिजन सिलिन्डर भरेर राख्न समेत भनेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा मात्र ३७८ जना संक्रमित थपिएका छन् ।

दिनदिनै संक्रमित हुनेको संख्या वृद्धि भइरहेको छ । ओमिक्रोन संक्रमणको संख्या समेत वृद्धि भएसँगै विशेषज्ञहरूले सचेत हुन आग्रह गरेका छन् ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या दिनानुदिन वृद्धि भएसँगै नेपालमा पनि यसको फैलावट हुने चिन्ता बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक जिन सिक्वेन्सिङ गरेका सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

यसअघि ३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । जिन सिक्वेन्सिङ गरेका सबैमा ओमिक्रोन पुष्टि भएपछि मन्त्रालयले कतै यो समुदायमा फैलिसकेको त छैन भन्ने चिन्ता लिएको छ । एसजिन स्क्रिनिङ गरेका २४ वटै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा तीव्र रूपमा ओमिक्रोन फैलिन सक्ने आशंका छ ।

दैनिक पहिचान भएका संक्रमित ४ मध्ये १ जनामा ओमिक्रोन भेरियन्ल्ट हुन सक्ने अनुमान छ । नेपालमा ओमिक्रोन संक्रमण देखिएका व्यक्ति कहाँका हुन् र कुन देशबाट आएका हुन् भन्ने सार्वजनिक गरिएको छैन ।

समुदायमा फैलिसकेको त छैन भन्ने चिन्ता आमनागरिकले गर्न थालेका छन् । कतिपय विज्ञहरूले यसले जोखिम ठूलो नहुने भए होसियार हुन र नआत्तिन समेत आग्रह गरेका छन् । तथापि यसले नेपालमा कस्तो असर गर्छ भनेर अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले संक्रमण बढ्न सक्ने सम्भावना देखिएको बताएका छन् ।

विज्ञहरूले अबको ४ हप्ताभित्रै नेपालमा डेल्टाको स्थान ओमिक्रोनले लिन सक्ने संकेत देखिएको बताएका छन् । संक्रमणको दर बढेसँगै परीक्षणको दायरा समेत वृद्धि गर्नुपर्ने देखिन्छ ।

ओमिक्रोन भेरियन्टको हकमा काठमाडौंभन्दा बाहिर यसको परीक्षण हँुदैन । बाहिरबाट पनि काठमाडौंमा नै नमूना ल्याउनुपर्ने र त्यसको नतिजा १ महिनापछि मात्र निस्कने भएकाले संक्रमण बढिसकेको हुनाले न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरी सावधानी अपनाउनुपर्ने देखिएको छ ।

संक्रमणको ग्राफ बढेको समयमा परीक्षण पनि बढाउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बताउँदै आएका छन् । यस विषयमा सरकारले पनि तयारी सुरु गरेको बताएको छ । ओमिक्रोन संक्रमितमा रुघाखोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये थोरैलाई मात्र श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । भारतमा ओमिक्रान संक्रमितको संख्या वृद्धि भइरहेको छ । जसका कारण पनि नेपालमा छिट्टै संक्रमणले भयावह अवस्था लिन सक्ने विषयमा समयमा नै ध्यान जानुपर्ने राय विज्ञहरूले दिएका छन् ।

संक्रमण दर वृद्धि भएसँगै भारतको राजधानी दिल्लीमा सप्तान्तर कफ्र्यु नै लगाउने निर्णय गरेको छ । कतिपय राज्यमा नाइट कफ्र्यु लगाइएको छ ।

नेपालमा भीडभाड नियन्त्रण गर्ने लगायतका विषयमा चासो दिइएको छैन । नेपालमा हालसम्म ४० प्रतिशत जनसंख्याले खोप लगाएको तथ्यांक छ । दुवै खोप लगाएकालाई पनि भारतमा ओमिक्रोनको संक्रमण देखिएकाले सचेत हुनुपर्नेछ । जोखिम न्यूनीकरणका लागि अहिले नै तयारी गर्नुपर्ने अवस्था छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

इमपेरियल कलेज लन्डनले कोभिड–१९ प्रतिक्रिया टोलीले भर्खरै गरेको अध्ययनअनुसार ओमिक्रोन भेरियन्टलेमा पुनः संक्रमणको जोखिम डेल्टा भेरियन्टको भन्दा ५.४ गुणा बढी छ । यसले विगतको संक्रमणबाट ओमिक्रोनले प्रदान गरेको पुनः संक्रमणविरुद्ध सुरक्षा १९ प्रतिशतले कम हुन सक्ने संकेत गरेको विज्ञ बताउँछन् । पछिल्लो समय भएका राजनीतिक दलका अधिवेशनहरूले नेपालमा संक्रमण देशभरि फैलिने डर देखिएको छ ।

हवाइजहाजमार्फत यात्रा गर्नेभन्दा पनि दक्षिणी सीमाबाट नेपालमा कोभिड फैलिने जोखिमको सम्भावना रहँदै आएको छ । नेपालमा ठूलो मात्रामा ओमिक्रोन प्रकोपका लागि महत्त्वपूर्ण हेरचाहको तयारी गर्न आवश्यक रहेको विज्ञहरूले औंल्याइरहेका छन् ।

नेपालमा खोप कभरेज कम रहेका, बुस्टर डोज निकै कम मात्रामा मात्र प्रदान गरिएकाले पनि सावधानी अपनाउन विज्ञहरूले बताउँदै आएका छन् । राजधानीमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*