‘प्रिन्ट’ देखिए पनि लाइसेन्स कार्ड भौतिक रूपमा आइपुगेको छैन : यातयात कार्यलय बारा
बारा — यातायात व्यवस्था कार्यालय, कलैयाले स्मार्ट कार्ड लाइसेन्स सम्बन्धी देखिएको अन्योल हटाउन सूचना जारी गरेको छ। अनलाइन प्रणालीमा ‘प्रिन्ट’ भइसकेको देखिए पनि सम्बन्धित लाइसेन्स कार्डहरू हालसम्म कार्यालयमा भौतिक रूपमा आइपुगेका छैनन्।
हालका दिनमा विभिन्न माध्यमबाट लाइसेन्स तयार भएको जानकारी पाएपछि सेवाग्राहीहरू कार्यालय धाउन थालेका छन्। यही भीड र भ्रमलाई ध्यानमा राख्दै कार्यालयले वास्तविक अवस्था सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार सम्बन्धित निकायबाट कार्ड ढुवानी प्रक्रिया अझै पूरा भइनसकेकोले तत्काल वितरण सम्भव छैन। त्यसैले सेवाग्राहीलाई अनावश्यक झन्झटबाट जोगिन कार्यालय आउनुअघि आफ्नो लाइसेन्स उपलब्ध भए/नभएको सुनिश्चित गर्न आग्रह गरिएको छ।
यसैबीच, सेवाग्राहीलाई समयमै जानकारी दिन कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज “Yatayat karyalaya kalaiya” मार्फत नियमित अपडेट उपलब्ध गराउने जनाएको छ। सो पेजमा राखिने नामावली वा विवरण हेरेर मात्र कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ।









