उद्योग समितिको नेतृत्वका लागि रास्वपाको रोजाइमा रहवर अन्सारी

कोल्हवी न्यूज
२०८३ बैशाख ३, बिहीबार १८:२० गते

बारा जिल्ला — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिहरूमा आफ्नो प्रभाव विस्तार गर्ने तयारीस्वरूप विभिन्न समितिका सभापति पदका लागि उम्मेदवारहरू चयन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले १० विषयगत तथा २ संयुक्त समितिका लागि नाम टुंगो लगाएको हो।

निर्णयअनुसार बारा–४ बाट निर्वाचित सांसद रहवर अन्सारी लाई उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि अघि सारिएको छ। त्यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको नेतृत्वका लागि समीक्षा बाँस्कोटा लाई प्रस्ताव गरिएको छ।

अन्य समितिहरूमा पनि रास्वपाले आफ्ना नेताहरूलाई प्राथमिकताका साथ अघि सारेको छ। पूर्वाधार विकास समितिमा आशिष गजुरेल, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी लाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका लागि ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरी बुढाथोकी र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी लाई उम्मेदवार बनाइएको छ।

संयुक्त समितिहरूतर्फ, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र निर्देशक सिद्धान्त कार्यान्वयन अनुगमन समितिमा गणेश कार्की लाई प्रस्ताव गरिएको छ।

रास्वपाले सत्ता समीकरण र संसदीय शक्ति सन्तुलनलाई ध्यानमा राख्दै प्रमुख समितिहरूमा आफ्ना प्रतिनिधिहरूलाई अगाडि बढाउने रणनीति अपनाएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*