डिजेल मूल्यवृद्धिपछि भाडा समायोजनको माग, यातायात व्यवसायी दबाबमा

कोल्हवी न्यूज
२०८३ बैशाख ३, बिहीबार १८:०९ गते

विश्व बजारमा कच्चा तेलको आपूर्ति अस्थिर हुँदा यसको असर नेपालमा पनि प्रत्यक्ष देखिन थालेको छ। यही प्रभावका कारण नेपाल आयल निगम ले वैशाख २ गते मध्यरातदेखि डिजेलको मूल्य बढाएपछि यातायात क्षेत्र दबाबमा परेको छ।

डिजेल मूल्यवृद्धिपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघ ले आपत्ति जनाउँदै भाडादर समायोजनको माग अघि सारेको छ। महासंघले इन्धनको मूल्य परिवर्तनसँगै भाडा पनि स्वचालित रूपमा घटबढ हुने व्यवस्था कार्यान्वयन नभएको गुनासो गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाँ ले पछिल्ला दुई चरणमा डिजेलको मूल्य ५ रुपैयाँ ५१ पैसासम्म बढिसकेको उल्लेख गर्दै पुरानै भाडादरमा सेवा सञ्चालन असम्भव भएको बताएका छन्। उनका अनुसार चैत २५ मा निर्धारण गरिएको भाडादर अबको मूल्यअनुसार पुनः समायोजन गर्न आवश्यक भएको छ।

यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभाग सँग भएको सहमति कार्यान्वयन गर्न दबाब दिँदै पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर हटाउन र सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न समेत सरकारसँग माग गरेका छन्।

महासंघले इन्धनको मूल्य तत्काल बढ्ने तर भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले व्यवसायीहरू आर्थिक रूपमा मारमा परेको भन्दै समस्या समाधानका लागि सरकारसँग शीघ्र पहल गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*