तिलावेमा डेढ वर्षपछि पुल निर्माण सुचारु — बेलिब्रिजले स्थानीयलाई राहतको आशा

कोल्हवी न्यूज
२०८२ चैत्र २७, शुक्रबार १८:१६ गते

पर्साको तिलावे नदीमा लामो समयदेखि रोकिएको पुल निर्माण कार्य पुनः सुरु भएको छ। वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकालाई जोड्ने महत्वपूर्ण मार्गमा पर्ने उक्त स्थानमा अब बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो।

गत वर्षको बाढीका कारण पुरानो पुल क्षतिग्रस्त भएपछि निर्माण कार्य ठप्प भएको थियो। त्यसयता स्थानीयवासीले सवारी आवागमनमा निकै कठिनाइ झेल्दै आएका थिए।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार क्षतिग्रस्त पुलभन्दा केही तल करिब ४८ मिटर लम्बाइको बेलिब्रिज निर्माण भइरहेको छ। यसका लागि २ करोड ४६ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको छ।

निर्माणको जिम्मा पाएको कम्पनीका इन्जिनियरका अनुसार हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ र निर्धारित समयसीमाभित्रै काम सक्ने लक्ष्य राखिएको छ।

हाल सो क्षेत्रमा डाइभर्सनमार्फत अस्थायी रूपमा सवारी सञ्चालन भइरहे पनि स्थायी समाधान नहुँदा स्थानीयले अझै सास्ती भोगिरहेका छन्।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि वीरगञ्जदेखि ग्रामीण क्षेत्रसम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*