चितवन र धादिङका दुई स्थानमा ‘साइरन’ जडित प्रविधि स्थापना

कोल्हवी न्यूज
२०८२ श्रावण २१, बुधबार १६:१९ गते

सवारी दुर्घटना र प्राकृतिक प्रकोपजस्ता विपद्को समयमा त्वरित सूचना प्रवाह र उद्धार सुनिश्चित गर्न सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले चितवन र धादिङका दुई स्थानमा ‘साइरन’ जडित प्रविधि स्थापना गरेको छ।

चितवनको भरतपुर–२९ सिमलताल र धादिङको बेनिघाट रोराङ–७ चरौंदीमा जडान गरिएको यो प्रणाली ‘इन्टरनेट अफ थिङ्स’ (IoT) आधारित हो, जुन सूचना प्रविधिमा आधारित कम्पनी लुना जीपीएसको सहकार्यमा सशस्त्र प्रहरीले स्थापना गरेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार यो प्रविधिको प्रमुख उद्देश्य आपतकालीन अवस्थाको खबर तात्कालिक रुपमा सशस्त्र प्रहरीसम्म पु¥याउनु हो। डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नेबित्तिकै कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा सायरन बज्नेछ।त्यसपछि घटनास्थलको लोकेसनसहितको सूचना मोनिटरमा देखिने र उद्धार टोली तत्काल परिचालन गरिने छ।

नारायणघाटदेखि नागढुंगासम्मको राजमार्गमा पर्ने क्षेत्रका नागरिकले मोबाइलमा ‘लुना जीपीएस’ एप डाउनलोड गरी पनि विपद् वा दुर्घटनाको जानकारी दिन सक्नेछन्। एपमा रहेको एसओएस बटन थिचेपछि एम्बुलेन्स, बाढी–पहिरो, आगलागी वा दुर्घटना भन्ने चार विकल्प खुल्ने छन्। घटना अनुसारको विकल्प छान्दा सो व्यक्तिको विवरणसहित सन्देश कुरिनटारको केन्द्रमा पुग्नेछ। एप अफलाइनमै पनि सूचना पठाउन मिल्ने बनाइएको छ।

सिमलताल र बेनिघाटमा विगतमा भएको ठूला दुर्घटनाले जनधनमा ठूलो क्षति पुर्‍याएको थियो। २०७८ सालको असार १९ मा बेनिघाटको जवाङ खोलामा पहिरोले पाँच बस पुरिँदा १४ जनाको मृत्यु भएको थियो। त्यस्तै, २०८१ असार २८ मा सिमलताल नजिकै पहिरोले दुई बस त्रिशूली नदीमा खसाल्दा २४ जनाको शव फेला परेको थियो भने अझै ३९ जना हराइरहेका छन्। यी दुवै घटना रातको समयमा भएका थिए र तत्काल सूचना प्रवाह हुन नसक्दा उद्धार ढिलो भएको थियो।

डीएसपी थापाका अनुसार, “यो प्रविधिले स्थानीय बासिन्दालाई पनि विपद् सूचना दिन सक्षम बनाउनेछ र सुरक्षाकर्मीलाई तत्काल खोज तथा उद्धारमा जुट्न सजिलो हुने छ।”उनले दुर्घटना न्यूनीकरण र मानवीय क्षति रोकथामका लागि अन्य जोखिमपूर्ण स्थानहरूमा पनि यस्ता प्रविधि विस्तार गर्न सकिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*