लहान नगरपालिकाले नगरवासीको स्वास्थ्य अवस्था पहिचान गर्न घर-घरमै पुग्ने अभियान सुरु
सिरहाको लहान नगरपालिकाले नगरवासीको स्वास्थ्य अवस्था पहिचान गर्न घर-घरमै पुग्ने अभियान सुरु गरेको छ। उच्च रक्तचाप, मधुमेहजस्ता प्रमुख नसर्ने रोग पत्ता लगाउने उद्देश्यले आइतबारदेखि साताव्यापी निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको हो।
शिविरको सुरुवात लहान–१२, पडरियाबाट गरिएको हो। नगरका २४ वटै वडामा स्वास्थ्यकर्मीहरू खटाइएका छन्, जो प्रत्येक घरमा पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। परीक्षणका क्रममा रोग पत्ता लागेमा सम्बन्धित बिरामीलाई थप उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइएको छ।
नगर स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीका अनुसार, शिविरमा पहिले देखिकै बिरामीलाई नियमित औषधि पनि वितरण गरिनेछ। “सर्नेभन्दा नसर्ने रोगले झण्डै ७० प्रतिशत नागरिकको मृत्यु हुने गरेको तथ्यांक छ,” उनले भने, “त्यसैले समयमै रोगको पहिचानले जीवन बचाउन सकिन्छ।”
शिविरमा नगरपालिकाअन्तर्गतका १२ स्वास्थ्य चौकी र ४ आधारभूत स्वास्थ्य केन्द्रका सम्पूर्ण स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
नगर प्रमुख महेश प्रसाद चौधरीका अनुसार, यस अभियानको मुख्य उद्देश्य जनताको घरमै पुगेर स्वास्थ्य समस्या पहिचान गरी मृत्यु जोखिम कम गर्नु हो। उनले गत वर्ष सञ्चालन गरिएको यस्तै कार्यक्रमबाट ४ हजारभन्दा बढी नागरिकले लाभ लिएको स्मरण गराए।










