सरकारी कर्मचारी सबैलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको तयारी

कोल्हवी न्यूज
२०८२ जेष्ठ २३, शुक्रबार १६:०५ गते

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय उल्लेख गरेको थियो ।

स्वास्थ्य बीमा ऐन–२०७४ मा भएको व्यवस्था अनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारीसमेत थाल्नुभएको छ । उहाँले सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभाग, प्रदेश सरकारलगायतमा पहल थाल्ने निर्णय गर्नुभएको छ ।

यस्तै सबै पालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय भएको छ । मन्त्रालयले सरकारी कर्मचारीका साथै सङ्गठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको छ ।

मन्त्रालयले पत्राचारका साथै आवश्यक थप व्यवस्था गर्ने गरी तयारीलाई अघि बढाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा ऐनमा भए पनि लागू नभएको व्यवस्था कार्यान्वयनमा गए यसले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान दिने बताउनुभएको छ । राष्ट्र सेवक सबै स्वास्थ्य बीमामा आबद्ध भएमा बीमा कार्यक्रम निकै व्यवस्थित हुने उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*