वर्षायाममा सागपात खाँदा सावधानी अपनाउनैपर्छ ?
स्वास्थ्यका लागि खानपानको मुख्य भूमिका हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व विभिन्न खानेकुराबाट प्राप्त हुन्छ । स्वस्थ रहन हरियो सागसब्जीको भूमिका महत्वपूर्ण हुन्छ । हरियो सागपातमा भिटामिन, खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ । तर वर्षायाममा हरियो सागपात कम खानु भनिन्छ । यसो भन्नुको पछाडि विभिन्न कारण हुन्छन् ।
वर्षायाममा पानी तथा खानेकुराहरु फोहोर हुने र हावामा ओस बढ्ने गर्छ । यस मौसममा कीटाणु र ब्याक्टेरिया शरीरमा प्रवेश गरी बिरामी बनाउने सम्भावना पनि धेरै हुन्छ ।
सागपात रोगको कारण नभई माध्यम हो
हरियो सागपात प्रायः पानी जमेको ठाउँ वरपर फल्छन् । वर्षामा उच्च आर्द्रताका कारण यस्ता ठाउँ धेरै प्रकारका ब्याक्टेरिया, भाइरस, फङ्गस, कीरा र अन्य जीवको वृद्धिका लागि उपयुक्त हुन्छन् । वर्षातमा सूर्यको किरण नहुँदा उनीहरू बढी सक्रिय रहन्छन् ।
यो मौसममा हरियो सागपात वर्षाको पानीको सम्पर्कमा आएका कारण विभिन्न कीटाणुको सम्पर्कमा आएर चाँडै बिग्रिन पनि थाल्छ । यी सूक्ष्म जीवहरू नाङ्गो आँखाले देख्न सकिंदैन । साथै वर्षातको मौसममा सागपातमा आँखाले देख्न नसकिने जुकाको अण्डा पनि विकास हुन्छ ।
सागपात माटोको सतहमा हुने भएकोले माटोमा हुने विभिन्न कीटाणु तथा अन्य जनावरको सम्पर्कबाट आउने कीटाणु हुने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा त्यस्ता सागपातलाई राम्ररी सफा नगरी, काँचै खाँदा शरीरमा प्रवेश गर्छन् ।
हामीले खाएको खानामा यदि जुकाको अण्डा रहेछ भने पेटमा पुगेर वयस्क जुकाको रुपमा परिवर्तन हुन्छन् । तिनीहरुले बाँच्न आन्द्रामा टाँसिएर रगत चुस्दा शरीरमा रगतको कमी हुनसक्छ । त्यसले गर्दा कालान्तरमा रक्तअल्पता हुनसक्छ ।श्रोत : अनलाइनखबर









