भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङद्वारा किओचका लागि ४१ करोड सहयोग गर्ने घोषणा

कोल्हवी न्यूज
२०८१ बैशाख २९, शनिबार ०६:४७ गते

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का लागि ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौँको किओच निर्माणस्थल पुगेका गुरुङले घोषित रकमबाट किओचका लागि अत्याधुनिक छुट्टै भवन बनाईदिने बताएका छन् ।
डा कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्दै छन् ।
डा कोइरालाको अभियानमा साथ दिने मनसायका साथ भवन निर्माणस्थल पुगेका गुरुङले अवधारणा र निर्माणस्थलमा पुगेपछि तत्काललै अभियानमा जोडिने प्रतिबद्धता जनाउँदै उक्त रकम दिने घोषणा गरेका हुन् ।

गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भने, ‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ, पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ, तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरें ।’

डा कोइरालाले गुरुङको सहयोग घोषणाले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको बताए ।

कोशी प्रदेशको झापामा किओचले एक वर्षअघि देखि बालबालिकाको उपचार सेवा दिन थालेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुने उनले बताए । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् ।
०६८ सालमा बुबा वृषबहादुर र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका हुन् । उक्त भवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो । भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*