फोक्सोको क्यान्सर पुरुषमा बढी देखिनुको कारण ?
फोक्सोको क्यान्सर एउटा यस्तो जटिल क्यान्सर हो, जसले विश्वमा प्रत्येक वर्ष लाखौ मानिसको मृत्यु हुन्छ । फोक्सोको क्यान्सर संसारभर नै पुरुषहरुलाई हुने क्यान्सर मध्य एक नम्बरको क्यान्सर भनेर चिनिन्छ । फोक्सोको क्यान्सर आफैमा जटिल त छ नै । साथै, यो क्यान्सर सजिलै पत्ता समेत लाग्दैन ।
फोक्सोबाट सुरु हुने क्यान्सर मुख्यतः दुई किसिमका हुन्छन्। ‘स्मल सेल’ र ‘नन स्मल सेल’ । नन स्मल सेललाई पनि ‘स्क्वामस सेल क्यान्सर’, ‘एडेनोकार्सिनोमा’ र ‘लार्ज सेल कार्सिनोमा’मा पुनःवर्गीकरण गरिएको छ। जब शरीरको सामान्य सेल बिग्रिएर अस्वाभाविक रूपमा बढ्न थाल्छ, तब क्यान्सर विस्तार हुन थाल्छ । संसारभर वर्षेनि लाखै जनाको मृत्यु फोक्सोको क्यान्सरका कारणले हुने गरेको छ।
यो क्यान्सर पुरुषहरुमा बढी देखिनुको कारण ?
पुरुषमा बढी पाईनुको कुनै ठेट कारण नभए पनि सर्वेक्षण गर्दा डाटाहरुमा के देखिएको छ भने संसारभरी नै महिला भन्दा पुरुषले धुम्रपान बढी सेवन गर्ने, रासायनिक कारखानामा पुरुषहरु बढी काम गर्ने भएको हुनाले पुरुषहरुमा फोक्सोको क्यान्सर बढी पाईएको हो।
फोक्सो क्यान्सर लाग्नुका थप कारणहरु के-के हुन ?
फोक्सोको क्यान्सर लाग्नुको मुख्य कारण चाँही धुम्रपान र मध्यपान हुन । त्यसमा पनि धुम्रपान यसको मुख्य कारण हो । त्यसो भन्दैमा धुमपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन । तर जोखिम भने धुमपान गर्नेमा धेरै हुन्छ । धुम्रपान गर्ने मानिसलाई ६०% क्यान्सर हुने सम्भावना अथवा जोखिम बढी हुन्छ।
साथसाथै जीवनशैली र आफ्नो काम गर्ने वातवरणले पनि फोक्सोको क्यान्सर हुने गर्दछ। जस्तै रासायनिक कारखानामा, धुवाँ धुलोमा बढी काम गर्नेलाई यो रोग लाग्ने सम्भावना बढी हुने गर्दछ। फोक्सोको क्यान्सर वंशानुगत रुपमा नसर्ने भए पनि घरमा यदी कसैलाई फोक्सोको क्यान्सर छ भने यसले रोग लाग्ने सम्भावना बढाउँछ। धुम्रपान, मध्यपान नगर्ने मानिसहरुलाई फोक्सोको क्यान्सर लाग्ने सम्भावना १५/२० % हुने गर्दछ।
कुन उमेर समुहमा बढि हुने गर्दछ ?
प्रायस् क्यान्सरका बिरामीहरुहरुको उमेर समुह ४० देखी माथिको पाईएको छ त्यस्तै फोक्सोको क्यान्सरमा पनि उमेर समुह ४० देखी माथि ६०/७० बर्षको मानिसहरुमा बढी देखिएको छ।
फोक्सोको क्यान्सर भएमा देखिने लक्षणहरु
फोक्सोको क्यान्सरले शुरुको अवस्थामा विरलै मात्र आफ्नो लक्षण देखाउँछ । जब लक्षण देखिन्छ तब क्यान्सर अरु जटिल अवस्थामा पुगिसकेको हुन्छ । त्यसैले लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिई हाल्नु जरुरी हुन्छ ।
- सास फेर्दा असजीलो वा खर्खराहट हुनु
- खोक्दा खकार मा रगत देखिनु
- छाती दुख्नु स् बोधो, कडा र घोचे जस्तो
- आवाजमा धोद्रोपन आउनु
- थकान हुनु
- तौल मा गिरावट आउनु
- औंला का टुप्पाहरु सुन्निए जस्ता र कडा हुनु
जब क्यान्सर को प्रकोप बढ्दै जान्छ र यो फोक्सो बाहेक अन्य अंगहरु मा पनि फैलँदै जान्छ तब देखिने लक्षणहरु–
- काँध दुख्नु, पाखुरा वा घाँटी दुख्नु
- हाड दुख्नु
- आँखाका परेला गरुंगा हुनु, दृष्टि धमिलो हुनु
- हातका मांसपेशी कमजोर हुनु
- अनुहार सुन्निनु
क्यान्सरको पहिलो चरणमा अस्पताल आउने बिरामीहरु कतिको हुन्छन् ?
पहिले पहिले बिरामीहरु क्यान्सरको तेस्रो, चौथो चरणमा मात्र अस्पातल आईपुग्थिए तर आजकल जमना त्यस्तो छैन। हस्पिटल नगई घरमै बसेर औषधी खाने चलन छैन। सबै मानिसहरुमा त्यसमा पनि युवा समूहहरु बढी सचेत भएको पाईएको छ।
यो हुनुको कारण अहिलेको जमनामा ईन्टरनेट देखी सबैको सुबिधा रहेको छ जसको मद्दतले मानिसहरुले आफ्नो रोगको बारेमा पढ्ने र हेर्ने गरेका हुन्छन्। यो कुराहरुले गर्दा उहाँहरुमा एकचोटी अस्पताल गएर जाँच्नुपर्छ भन्ने भावना आएको छ र बिरामीहरु अहिले क्यान्सरको पहिलो चरणमै आउन थालेका छन्।
फोक्सोको क्यान्सर सम्बन्धी नेपाल सरकारको नीति नियम कस्तो रहेको छ ?
नेपाल सरकारले क्यान्सर सम्बन्धी त्यस्तो निती नियम ल्याएको छैन तर पनि अहिले कुनै पनि फोक्सो क्यान्सर मात्र नभएर कुनै पनि क्यान्सर लागेका व्यक्तिहरुलाई १ लाख उपचार खर्च दिएको पाईएको छ। तर हामीले हेर्दा १ लाखले उपचारको लागि त्यती मद्त पुराईरहेको देखिदैन। गरीब अथवा उपचार गर्न नसक्नेलाई सरकारले पुरै उपचार खर्च दिनुपर्छ।
यसको उपचार बिधी कस्तो छ ?
शुरुशुरुमा फोक्सोको क्यान्सर लक्षणरहित हुन्छ। जब शरीरमा कुनै असामान्य अवस्था देखिन्छ तब मात्र हाम्रो ध्यान जान्छ। त्यो बेलामा शंका लागेर फोक्सोको एक्स–रे गर्दा ३ सेमी वा त्यो भन्दा सानो गिर्खो देखिन सक्छ। त्यसपछि रोगको अवस्था हेरेर डाक्टरले सीटी स्क्यान गर्ने कि शल्यक्रिया नै गर्ने (उच्च जोखिम देखिएमा) निश्चय गर्ने गर्छन्।
यदि माथि बताइएका लक्षणहरु देखिएका छन् भने तुरुन्त डाक्टरको परामर्श लिनु उपयुक्त हुन्छ। यदि डाक्टरले फोक्सोको क्यान्सरको आशंका गर्छन्, तब डाक्टरले थप विस्तृत परीक्षणका लागि सल्लाह दिने गर्छन्। तिनमा निम्न परीक्षणहरु प्रमुख छन्–
- छातीको एक्स–रे, रक्त परीक्षण
- सीटी स्क्यान, एभ्त् स्क्यान, एमआरआई, बोन स्क्यान स् क्यान्सरको फैलावट जाँच्नका लागि
- बायोप्सी स् क्यान्सर प्रभावित तन्तु को परीक्षण । सो तन्तु छातीमा सियोद्वारा कोपेर वा ब्रोन्कोस्कोपी वा शल्यक्रियाबाट निकाल्न सकिन्छ ।
- स्थान, प्रकार तथा क्यान्सर को चरणका आधारमा तपाईंको सामान्य उपचारका विकल्पहरु निर्धारण गरिन्छन् । ती यसप्रकार हुन सक्छन्–
शल्यक्रिया : क्यान्सर शुरु को अवस्था मै रहेछ भने शल्यक्रिया गरेर क्यान्सर ग्रस्त भाग हटाइन्छ
विकिरण चिकित्सा : यदि क्यान्सर अरु अंगहरुमा फैलिसकेको छैन भने क्यान्सर कोष मार्नका लागि यो उपाय अपनाइन्छ
केमोथेरापी : विभिन्न प्रकारका औषधिहरुको संयोजन गरेर शल्यक्रिया अगाडि वा पछाडि यो चिकित्साको उपयोग गरिन्छ। यसलाई शरीरका अन्य अंगमा फैलिएका क्यान्सरको उपचारमा पनि प्रयोग गरिन्छ।
बच्ने उपाय
- फोक्सोको क्यान्सर लागेर उपचार गर्नभन्दा यो रोग लाग्नबाट बच्नु नै बुद्धिमानी हो। यसका लागि रोकथामका उपायहरू गर्नु आवश्यक पर्छ।
- फोक्सोको क्यान्सरको मुख्य कारण धूमपान भएकोले धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन। अरूले गरेको धूमपानको असरले धूमपान नगर्ने व्यक्तिलाई पनि क्यान्सर हुनसक्ने हुँदा सार्वजनिक ठाउँँमा यातायातका साधनमा धूमपान गर्नुहुदैन।
- कलकारखाना लगायत सवारी साधनहरूबाट निस्कने धूँवाबाट जोगिनुपर्छ। भान्सा कोठामा खाना पकाउन सुरक्षित चुलोको प्रयोग गरी धूँवाबाट बच्नु पर्छ ।
- यसबाहेक हरेक दिनको खानामा ताजा सागपात,फलफूल समावेश गर्न सकेमा क्यान्सरलगायत अन्य रोगबाट पनि बच्न सकिन्छ।
महिला स्वास्थ्यबाट ।









