बैङ्क खाता खोल्दै राउटे समुदाय

कोल्हवी न्यूज
२०८१ बैशाख ८, शनिबार ०६:३४

‘पैसा छोए पाप लाग्छ’ भने मान्यता राख्ने फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश गरेका छन् । सरकारले उनीहरूलाई दिने गरेको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फतै बुझ्न उनीहरू सहमत भएका छन् । त्यसका लागि खाता खोल्न थालिएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राउटे समुदायका प्रत्येक नागरिकको बैङ्क खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरू खाता खोल्न सहमत भएका हुन् ।

पश्चिम नेपालका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले सरकारले दिने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बस्तीमै आएर वितरण गर्ने भनेपछि आफूहरू खाता खोल्न राजी भएको बताउनुभयो । उहाँले समुदायका नागरिक पढ्न, लेख्न नजान्ने र बैङ्कमा गएर चेक काट्न नसक्ने भएकाले बस्तीमै आएर भत्ता वितरण गर्न बैङ्क र गाउँपालिकाले मानेपछि आफूहरू खाता खोल्न राजी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बैङ्कमा गएर पैसा ल्याउन सक्दैनौँ । त्यो हामीलाई थाहा छैन । तपाईंहरूले बस्तीमै आएर भत्ता वितरण गर्नु पर्छ भनेका छौँ र उहाँहरूले ‘हुन्छ’ भन्नुभएको छ ।”

गुराँस गाउँपालिका दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दहालले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि–२०७७ बमोजिम राउटे समुदायका नागरिकको सामाजिक सुरक्षा भत्ता बैङ्कमै जम्मा गर्ने उद्देश्यले उनीहरूको खाता खोलिएको बताउनुभयो । उहाँले भत्ता पाउने लाभग्राहीको फोटोसहित मूल अभिलेखमा राखेपछि त्यसैका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट रकम निकासा गर्नुपर्ने भएको हुँदा राउटे समुदायको समेत अभिलेख राखिए पनि बैङ्क खाता नहुँदा समस्या भएपछि उनीहरूलाई बैङ्क खाता खोल्ने र खातामा रकम जम्मा गर्ने, पछि सम्बन्धित वडा कार्यालयको सहयोगमा वितरण गर्ने बताउनुभयो ।

सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे समुदायलाई खाता खोल्न सहमत गराउन हम्मे भएको बताउनुभयो । उहाँले राउटे समुदायका नागरिकलाई बल्लबल्ल मनाएर खाता खोल्न सहमत गराएको र त्यस अनुसार बैङ्कका कर्मचारी, गाउँपालिकाका कर्मचारी, परियोजनाबाट परिचालित कर्मचारी लागेर १०७ जनाको विवरण लिएको र अब ३० जनाको बाँकी रहेको बताउनुभयो । उहाँले ३० जनाको विवरण लिएर बैङ्कमा बुझाउने र त्यसपछि खाता खोल्ने बताउनुभयो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा भएदेखि गुराँस गाउँपालिका–८ वडा कार्यालयले राउटे समुदाय जहाँ पुग्यो, त्यहीँ गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको भए पनि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि अनुसार नहुँदा समस्या भएका कारण गाउँपालिकाको सहरजीकरणमा प्रभु बैङ्कलाई आग्रह गरी बस्तीमै पुगेर खाता खोलिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राउटे समुदायले खाता खोले पनि बस्तीमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति भए पनि बिस्तारै राउटे समुदायलाई नै आफ्नो खाताबाट आफैँ रकम निकाल्न सक्षम हुने विश्वास लिएका छौँ ।” राउटे समुदायलाई नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा एक पटक सबै रकम दिनुपर्ने र उनीहरूले एक दुई दिनमै सबै रकम सक्ने समस्यालाई समेत ख्याल गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गुराँस गाउँपालिकाले २०७५ सालमा गुराँस गाउँपालिका–८ गर्चामा बसेको बेला कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र जिल्ला प्रशासन कार्यालयको रोहबरमा १४९ जनालाई गाउँपालिकाले स्थायी परिचयपत्र वितरण गरेको थियो । अहिले राउटे समुदायको जनसङ्ख्या घटेर १३७ पुगेको छ ।

गाउँपालिकाले गुराँस गाउँपालिका–८ को स्थायी बासिन्दाको परिचयपत्र दिएपछि उनीहरूले पाउने सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकामा आउने गरेको छ । राउटे समुदाय पछिल्लो समय नागरिकको घुलमिल बढ्दै गएपछि अहिले उनीहरू अन्य नागरिकसरह व्यवहार गर्न थालेका छन् । पहिला जङ्गलमा पाइने कन्दमूल, गिठ्ठा खाने र काठबाट निर्माण गरेका सामग्री अन्नसँग साटेर खाने उनीहरू पछिल्लो समय आमनागरिकजस्तै बजारबाट सामान किनेर खाने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*