कम्मर किन दुख्छ ?

कोल्हवी न्यूज
२०८० पुष २३, सोमबार ०७:४१ गते

३३ टुक्रे हाड मिलेर बनेको मेरुदण्डको लम्बर भर्टेब्रालाई हामी कम्मर भन्छौं।  शरीरको गतिशीलता र लचकता कम्मरको लचकतामा भर पर्छ। कम्मरबाट मुुनि खुट्टाका नसा जाली जस्तै गएका हुन्छन्। जसलाई साइटिक नर्भ भनिन्छ। कम्मर दुख्नु, थाईभन्दा मुनि पैतालासम्म तन्किएर दुख्नु, हिपका जोर्नी दुख्नु, खुट्टा टेक्न नसक्ने गरी दुख्नु, झमझम हुनु, पौंताला पोल्नु यही कम्मरको भागको डिस्कमा दबाब परी नसा च्यापिएर हुन्छ जसलाई हामी साइटिका भन्छौ। जुन भागमा नसा च्यापिन्छ त्यही भागमा दुख्ने हुन्छ।

कम्मर दुख्नुको मुख्य कारण खराब विहार नै हो। कम्मरमा असर हुने काम गरेमा, धेरै बेर निहुरेर काम गर्नाले, अगाडि वा पछाडि धेरै झुकेर बस्नाले, खराब पोस्चरका कारणले, सुत्ने, उठ्ने नमिलेका कारणले, भारी सामान उठाउनाले, सकि नसकि भारी व्यायाम गर्नाले, गर्धन झुकाएर बस्ने आदि गर्नाले समस्या आउँछ। हिँडेको, बसेको, उभिएको नमिलेर पनि कम्मर दुख्छ। त्यसैगरी गाडी, मोटरबाइक चलाउँदा निहुरिएर, झुकेर  चलाउनाले पनि दुख्छ। साथै खान र पानी नमिलेर पनि दुख्छ।

बालबालिकामा भने झुकेर भारी व्याग बोक्नाले, झुकेर पढ्ने तथा लेख्ने गर्नाले, एउटै पोजिसन धेरैबेर बस्नाले, निहुरेर वा सुतेर ल्यापटप वा मोबाइलमा बेन्चमा बसेको आदि नमिलेर दुख्छ। त्यसैगरी मोटोपनले पनि नसा च्यापिन्छ। त्यसैले उचाइअनुसार शरीरको तौल ठिक ठाउँमा राख्नु पर्छ।

कम्मर कसैको बीच भागमा दुख्छ, कसैको कम्मरको दायाँ भागदेखि दायाँ खुट्टासम्म झमझम गरी दुख्छ। कसैको थाई मुनितिर तन्किएर दुख्छ। यसरी दुखेमा कम्मरमा नसा च्यापिएको हुन्छ। दायाँ भागमा दुखेमा दायाँ भागको नसा च्यापिएको हुन्छ भने बायाँ भाग दुखेमा बायाँतिरको नसा च्यापिएको हुन्छ।

यसलाई बेलैमा समाधान गरेन भने पछि धेरै दुख्ने, खुट्टाले टेक्नै नसक्ने, हिँडडुलसम्म गर्न गाह्रो हुने हुन्छ र शल्यक्रिया गर्नु पर्ने सम्म हुन्छ। त्यसैले स्वस्थ रहन यसलाई हरहमेशा लचिलो र बलियो बनाइराख्नु पर्छ। यसका लागि सबैले उचित आहार र उचित विहार गर्नुपर्छ। हरेक विहान सम्पुर्ण शरीरलाई लचिलो बनाउने व्यायाम गर्नु पर्छ। त्यसैगरी विहान ३० देखि ४५ मिनेट हिँड्न सकिन्छ। निकैबेर काम गरेपछि केही बेर आराममा बस्नु पर्छ।

ढाड तथा कम्मरका समस्या विशेषतः शरीरको विहार नमिलेर हुन्छ भने केही आहार नमिलेर पनि हुन्छ। खाना नमिलेर आएको समस्या खाना मिलाएर ठिक हुन्छ भने विहार नमिलेर आएको समस्यालाई विहार मिलाउनु पर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*