कोरोना संक्रमणको जोखिम बढ्दो, सरकारसँग छैन परीक्षण किट

इमर्जेन्सी केसका लागि आवश्यक पर्ने पीसीआर र एन्टिजेन्ट किटसमेत नभएकाले खरिद गर्न व्यवस्थापन महाशाखालाई पत्राचार गरेका छौं : डा. हेमन्तचन्द्र ओझा, वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
कोल्हवी न्यूज
२०८० पुष २३, सोमबार ०७:३४ गते

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सबभेरिएन्ट जेएन.१ नेपालमा पुष्टि भइनसके पनि छिमेकमा संक्रमण फैलिरहेकाले सतर्कता अपनाउन अनुरोध गरिरहेको छ ।

यस्तो अवस्थामा नेपाल सरकारसँग परीक्षण किटसमेत छैन । टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय भन्डारमा किट नभएपछि इमर्जेन्सी केसका लागि आवश्यक पर्ने पीसीआर र एन्टिजेन्ट किट खरिद गर्न स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई पत्राचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाले बताए । ‘प्रदेशको आपूर्ति केन्द्रहरूलाई पनि आपत्कालीन अवस्थालाई मध्यनजर गरेर खरिद गर्न अनुरोध गरिसकेका छौं,’ उनले भने ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले इमर्जेन्सी केसका लागि पुग्ने मात्रामा खरिद गर्न छलफल भइसकेको दाबी गरे । ‘खरिद गरेर मात्र पनि हुँदैन । धेरै स्टक भएमा पछि महालेखा नियन्त्रकको कार्यालयले प्रश्न गर्छ,’ उनले भने, ‘एन्टिजेन किटहरू आवश्यक परेमा पालिकाहरूले पनि खरिद गर्न सक्छन् ।’

डब्लूएचओले कोरोना संकटकाल अन्त्य भएको घोषणा गरे पनि जोखिम भने रहिरहेको जनाएको र कोरोनाको निरन्तरतालाई ध्यान दिएर सरकार जहिले पनि यस विषयमा गम्भीर हुनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अहिले रुघाखोकी र ज्वरोको सिजन छ । बेलैमा परीक्षण गर्न पाएमा रोग पत्ता लगाई समाजमा फैलिन सक्ने खतराबाट बचाउन र रोग निदान गर्न सकिन्छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभागले पीसीआर र एन्टिजेन किट २०७७ मा खरिद गरेको थियो । विभागले पछिल्लो समय माग भएबमोजिम स्टकमा रहेको ५ हजार पीसीआर किट नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, हेटौंडा अस्पताल, मकवानपुर, प्रादेशिक अस्पताल, सिराहा र जनकपुरमा पठाएको थियो । विभागका अनुसार किटको म्याद दुई वर्ष हुने गरेको छ ।

कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

वैदेशिक रोजगारीमा जाने मजदुरले कोरोना परीक्षण गर्ने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र देशैभरिबाट रेफर गरेर पठाउने केन्द्रीय ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पीसीआर किटको स्टक सकिन लागेको छ । दुवै निकायका अनुसार दुई सातालाई मात्र पुग्ने स्टक छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले स्वास्थ्य सेवा विभागलाई पीसीआर किट अभाव भएको बारेमा मौखिक जानकारी गराइसकेको बताए । ‘अहिले एक सयदेखि डेढ सय जनासम्मलाई परीक्षण गर्न समस्या भएन,’ उनले भने, ‘३/४ हजारको परीक्षण गर्नुपर्‍यो भने सकिँदैन ।’इकान्तीपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*