बालबालिकालाई चिसोबाट जोगाउन के गर्ने ?

कोल्हवी न्यूज
२०८० मंसिर २५, सोमबार ०७:४६ गते

अहिले चिसो मौसम चलिरहेको छ। यतिबेला जोसुकैले चिसो हुनबाट जोगिनु आवश्यक छ। तर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन्। विशेष गरेर नवजात शिशु जन्मदेखि २८ दिनसम्म चिसोको जोखिममा हुन्छन्। उनीहरुलाई चिसोले धेरै असर गर्छ। शरीरको तापक्रम कम भएर शितांग हुने समस्या हुन्छ। त्यसैले बच्चालाई असहज नहुने गरी न्यानो पारेर राख्नुपर्छ। यो समयमा आमाको दूधमात्र चुसाउने र आमासँगै राख्ने गर्नुपर्छ। अलि ठुलो उमेरका बच्चालाई पोषिलो र झोलिलो खानेकुरा खान दिने, न्यानो कपडा लगाइदिने गर्यो भने चिसोबाट बच्चाहरुलाई बचाउन सकिन्छ। उमेर बढ्दै गएपछि बालबालिकाले घरमा भन्दा धेरै समय विद्यालयमा बिताउँछन्। चिसोबाट जोगाउन अभिभावकसँगै विद्यालयको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ? कस्ता खानेकुरामा जोड दिने ? 

चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?
नवजात शिशु जन्मेपछि २८ दिनभित्र चिसोमा विशेष ख्याल गर्नुपर्छ। यो समयमा बच्चालाई चिसोले धेरै असर पार्छ। उनीहरुमा शरीरको तापक्रम कम भएर शितांग हुने समस्या धेरै हुन्छ। त्यसैले बच्चालाई असहज नहुने गरी न्यानो पारेर राख्नुपर्छ। त्यस्तै आमाको दूधमात्र चुसाउने र आमासँगै राख्ने गर्नुपर्छ। अलि ठुलो उमेरका बच्चालाई पोषिलो र झोलिलो खानेकुरा खान दिनुपर्छ। न्यानो कपडा लगाइदिने गरेमा चिसोबाट बच्चालाई बचाउन सकिन्छ।

यो समयमा बालबालिकामा कस्ता खालका रोग देखापर्न सक्छन् ?
नवजात शिशुमा शितांग हुने समस्या बढी हुन्छ। जुन शरीरको तापक्रम एकदमै कम भएर हुने गर्दछ। अलि ठुलो उमेरका बच्चामा रुघाखोकी, झाडापखाला, दम, मौसमी रुघाखोकीको समस्या हुन्छ। बालबालिकामा ज्वरो, निमोनिया लगायतका समस्या देखिने सम्भावना बढी हुन्छ।

चिसो मौसममा बालबालिकालाई कस्ता खानेकुरामा जोड दिने ?
जन्मदेखि ६ महिनासम्मका बालबालिकालाई आमाको दुध मात्रै खुवाउनुपर्छ। जसले गर्दा बालबालिकामा विभिन्न खाले रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ। ६ महिनामाथिका बालबालिकालाई पोषिलो खानेकुरा जस्तै दाल, भात, लिटो, जाउलो खुवाउनुपर्छ। यस्ता खानेकुरामा अलिअलि घिउ राखेर खुवाउन सकिन्छ। बालबालिकालाई जंङफुडहरु, फ्रिजमा राखिएका खानेकुरा खान दिनु हुँदैन।

 

बालबालिकालाई रुघाखोकी लाग्दा बाफ लगाउने गरिन्छ, यो कत्तिको प्रभावकारी हुन्छ ?
सानो बच्चालाई भन्दा उमेर बढ्दै गएपछि बच्चाले सहज मान्छ भने बाफ दिन सकिन्छ। घरमा तातोपानीको बाफ दिनु नराम्रो होइन। तर सानो बच्चाहरुलाई यो नगर्दा नै राम्रो। पाँच वर्ष मुनिको बच्चाहरुमा घाँटी घ्यारघ्यार हुने, नाक थुनिने जस्ता समस्या आए भने कहिलेकाँही मेसिनबाट बाफ दिन सकिन्छ।

बच्चालाई कस्तो अवस्थामा अस्पताल लैजाने ?
बच्चालाई सामान्य रुघाखोकी मात्रै छ, ज्वरो छैन, खोकेको छैन, स्तनपान राम्रोसँग गरिरहेको छ भने डराउनु पर्दैन। यस्तो समस्या विस्तारै आफै निको भएर जान्छ। तर रुघा सँगसँगै ज्वरो पनि आयो, बच्चाले खोक्न थाल्यो र उमेर अनुसार सासको गति बढ्यो, कोखा हान्यो, दुध चुस्न गाह्रो भयो, बान्ता गर्न थाल्यो भने अस्पताल लानुपर्छ। शिशुको छातीमा असर गरेर निमोनिया भएको हुनसक्छ। त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ।

बच्चालाई तेल मालिस गर्ने कि नगर्ने ?
सकेसम्म तोरीको तेल लगाउनु हुँदैन। तोरीको तेल एकदमै बाक्लो र कडा खालको हुन्छ। भर्खरै जन्मिएको शिशुको छाला नरम हुन्छ। त्यसमा तेल लगाउँदा एउटा कुरा त छालालाई असर गर्छ, अर्को तेल लामो समयसम्म छालामा टाँसिएर बस्छ। त्यसले गर्दा बाहिरको फोहोर कुरा आएर तेलमा बस्छ। जसका कारण छालाको इन्फेक्सन हुने सम्भावना बढी हुन्छ। बच्चाको छालालाई सुट गर्ने खालका तेल लगाउनुपर्छ। त्यस्तो तेलले मालिस गर्ने तथा सेक्ने गर्नु उपयुक्त हुन्छ। शिशुलाई कोइला बालेर धुवाँमा आँखा पिरो हुनेगरी सेक्नु हुँदैन। सामान्य तापक्रममा धुँवा नआउने गरेर आगो अर्थात् हिटरमा सेक्नुपर्छ। कतिपय ठाउँमा बच्चालाई न्यानो पार्ने भन्दै झ्याल ढोका थुनेर कोइला हिटर बाल्ने गर्नाले बच्चा र आमालाई निसासिएर गाह्रो हुन्छ। यसले आमा र शिशुकै मृत्यु हुने जोखिमसमेत हुन्छ। त्यसैले जाडोको बेलामा झ्याल ढोका बन्द गरेर कोठामा हिटर तथा कोइला बालेर बस्नु हुँदैन।

 

बालबालिकाले घरमा भन्दा धेरै समय विद्यालयमा बिताउँछन्, चिसोबाट जोगाउन विद्यालयको भूमिका कस्तो हुनुपर्छ ?
चिसो मौसममा धेरै बालबालिकालाई रुघाखोकी लाग्ने गर्दछ। विद्यालयमा एउटा बच्चालाई रुघाखोकी लाग्यो भने विस्तारै सबै बालबालिकालाई सर्ने सम्भावना हुन्छ। त्यसैले अभिभावकले पनि बच्चामा केही समस्या आयो भने केही दिन विद्यालय नपठाउने र विद्यालयले पनि घाम लाग्ने कोठामा साना बालबालिकालाई राख्ने गर्नुपर्छ। त्यो भएन भने कोठालाई कसरी न्यानो पार्न सकिन्छ त्यो व्यवस्था गर्नुपर्छ। लुगा राम्रोसँग लगाइदिने गर्नुपर्दछ। बालबालिकालाई चिसोबाट जोगाउन विद्यालयको पनि अहम भूमिका हुन्छ।

चिसोमा बालबालिका जोगाउने केही सुझाव छन् कि ?
चिसोमा बालबालिकालाई अन्य समयमा भन्दा स्वासप्रस्वास र पेटसम्बन्धी समस्या हुन्छ। भाइरल र झाडा पखालाले सताउने गर्छ। यो मौसममा बालबालिकालाई रोटा भाइरसबाट जोगाउनुपर्छ। यसले बढी असर गर्ने भएकाले ६ महिनासम्मको बच्चालाई आमाको दुध मात्रै खुवाउनु राम्रो हुन्छ। आमाले पनि पोषिलो खानेकुरा खाने गर्नुपर्छ। सामान्य रुघाखोकी लाग्दैमा आत्तिएर अस्पताल दौडिनु पर्दैन। रुघाखोकी सँगसँगै कोखा हान्यो, सास फेर्न गाह्रो भयो र ज्वरो आयो भने चिकित्सकसँग परामर्श लिनुपर्छ।

खबरहवबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*