मकवानपुरको विकट चेपाङ बस्तीमा कुपोषणको कहर
दुई वर्ष पार भइसके पनि तौल साढे २ केजी मात्रै छ । ख्याउटे गाला र ठूलो भुँडी । तिघ्राको मासुमा मुजा परेको देखिन्छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ धिराङका सोमबहादुर चेपाङका चौथो सन्तान अशोकको अवस्था हो यो । उनका तीन अन्य सन्तानको स्वास्थ्य पनि गतिलो छैन । पाँचौं सन्तान जन्माउने तयारीमा रहेकी सोमबहादुरकी २३ वर्षीया श्रीमती सीतामायाले अहिलेसम्म कहिल्यै गर्भ जाँच गराएकी छैनन् ।
उनका चारै सन्तान झारफुकका भरमा घरमै असुरक्षित ढंगले जन्मेका हुन् । पाँचौं पटक गर्भ धारण गरेको ६ महिना पुगेकी सीतामायाको स्वास्थ्य पनि कमजोर छ । नियमित गर्भ जाँच गर्नुपर्ने, स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी सेवाको सुविधा र सुत्केरी प्रोत्साहन खर्चबारे उनलाई केही थाहा छैन ।
तीन सन्तानकी आमा राक्सिराङ–८ की २२ वर्षीया मंगलीमाया चेपाङ गर्भवती भएको ६ महिना भइसक्यो । उनले पनि अहिलेसम्म गर्भ परीक्षण गराएकी छैनन् । १३ महिनाकी छोरीको पोषण परीक्षण गराउँदा कडा कुपोषणले ग्रसित भएको पाइएको छ । १६ वर्षमा बिहे भएकी मंगलीले १८ वर्ष नपुग्दै पहिलो छोरी जन्माएकी थिइन् । तीन छोराछोरी घरमै जन्माएकी उनलाई पनि स्वास्थ्य संस्थामा सुत्केरी भत्ता पाइने र बच्चालाई बालभिटा खुवाउनुपर्छ भन्ने जानकारी छैन ।
सीतामाया र मंगलीमायाका सन्तान मात्र होइन, राक्सिराङका अधिकांश चेपाङ समुदायका बालबालिका कुपोषणले ग्रसित पाइएको स्वास्थ्यकर्मीले बताएका छन् । असार पहिलो साता राक्सिराड गाउँपालिकाभरि ६ देखि ५९ महिनासम्मका १५ सय १९ बालबालिकामा कुपोषणको लेखाजोखा ९स्वास्थ्य परीक्षण० गरिएको थियो । त्यस क्रममा ९१ जनामा कडा र २ सय १८ बालबालिकामा मध्यम कुुुुुपोषण पाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । ‘३६ जना स्वास्थ्यकर्मी खटिएर सात दिनमा परीक्षण गरिएको हो,’ कापरीले भने, ‘बालबालिकामा कुपोषणको अवस्था यति भयावह होला होला भन्ने अनुमान नै थिएन ।’ राक्सिराङमा ७१ वटा टोल छन् । प्रत्येक वडामा ४ जना स्वास्थ्यकर्मी बालबालिकाको कुपोषण परीक्षण गर्न खटिएका थिए । स्वास्थ्यकर्मीले बालबालिकाको तौल, उचाइ र पाखुराको नाप लिएर कुपोषण भएरनभएको छुट्याएका थिए ।
‘दुई दिनमा भेटिएका कुपोषित बालबालिकाको रिपोर्ट हेर्दा आत्तिनुपर्ने अवस्था छ,’ स्वास्थ्य शाखाका प्रमुख कापरीले भने, ‘बालबालिकालाई बालभिटा खुवाउँदैनन्, सुत्केरी हुन स्वास्थ्य चौकी आउँदैनन् र गर्भ परीक्षण पनि गराउँदैनन् ।’ वडामै स्वास्थ्य संस्था भए पनि सेवा लिन नआउने गरेको उनले सुनाए । उक्त बस्तीका अधिकांशको बालविवाह हुने गरेको छ । उनीहरूको आफ्नो उत्पादनले मुस्किलले चार महिना पनि खान पुग्दैन ।
गत वर्षको वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको अध्ययन प्रतिवेदनअनुसार मकवानपुरका ११ महिना उमेरसम्मका १ सय ४७ बालबालिका कुपोषणले ग्रसित छन् । एक वर्षदेखि २३ महिना उमेरसम्मका ७६ जना बालबालिका कुपोषित रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताए । वाग्मती प्रदेशमा २३ महिनाभित्रका १ लाख ५४ हजार ७ सय ५९ बालबालिका छन् । तीमध्ये २ हजार ५ सय ९५ बालबालिका कुपोषणले ग्रसित छन् । कुपोषित बालबालिकामध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ रहेको जानकारी तथ्यांक अधिकृत भण्डारीले दिए । खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका बस्तीका अधिकांश बालबालिका कुपोषणले ग्रसित भेटिएको छ ।
बालबालिकालाई कुपोषणबाट जोगाउन सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहे पनि अधिकांश अभिभावकले खुवाउने गरेका छैनन् । स्थानीय तहले बालभिटा खपत नभएर म्याद नाघेर नष्ट गर्नुपरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ । पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ ।
बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले तीन पटक बालभिटा वितरण गर्ने गरेको छ । तर मकवानपुरका स्थानीय तहहरूको तथ्यांकअनुसार पहिलो पटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रो पटक लिन आउनेको संख्या निकै कम छ । बच्चा जन्मिएको दुई वर्षभित्रमा ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्याउने स्वास्थ्यकर्मी बताउँछन् । सरकारले निःशुल्क रूपमा बालभिटा वितरण गरिरहँदा पनि अभिभावकमा खुवाउनुपर्छ भन्ने चेतना बढेको छैन । ‘स्तनपान, खाद्य असुरक्षा, स्वास्थ्य सेवामा पहुँच र खानामा पोषकतत्त्वको अभावले शीघ्र कुपोषणको समस्या देखिएको छ,’ हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा। हरिबहादुर खड्काले भने, ‘कुपोषणबाट ग्रसित भएर स्वास्थ्य संस्थामा आइपुगेका बालबालिकाको भने सुधारको अवस्था राम्रो छ ।’ कान्तिपुरबाट ।









