गर्मी बढेसँगै डेंगीको जोखिम, यस्ता छन् बच्‍ने उपाय

कोल्हवी न्यूज
२०८० असार १४, बिहीबार ०६:१३ गते

पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगी संक्रमणको जोखिम बढ्न थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ६ महिनाको अवधिमा डेंगीका करिब ९ सयभन्दा बढी केसहरु देखा परेका छन् ।

ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार जनवरीदेखि हालसम्म ९ सय ३ केसहरु देखा परिसकेका छन् । हाल ४७ वटा जिल्लामा देखापरेको डेंगी सबैभन्दा धेरै केस दार्चुलामा देखिएको छ । जहाँ डेंगीका १ सय ८७ केसहरु पाइएका छन् ।

जसअन्तर्गत धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ वटा केसहरु पाइएका हुन् । यस अवधिमा डेंगीबाट मृत्यु पुष्टी भएको छैन । ईडीसीडीका भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा। गोकर्ण दाहालले गर्मी बढेसँगै फाट्टफुट्ट डेंगीका केसहरु देखिन सुरु गरेको जनाए । उनले भने, ‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ ।’

केही जिल्लाहरुमा अरु केस देखिन थालेको तर आत्तिनुपर्ने स्थिति नरहेको पनि उनले बताए । ुहामीले सबै पालिकामा पत्राचार गरेका छौँ सम्भवत यो वर्ष त्यति केस नदेखिएला,’ उनले भने ।

डेंगीको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सूचना जारी गरिसकेको छ ।

सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन नहुने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

सन् २०२२ हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् ।

यस्तै सामान्य प्रकारको डेंगीमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौँलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्छन् ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेलामा झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिने विशेषज्ञहरू बताउँछन् ।

डेंगी गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि जमेर रहेको स्थिर संग्लो पानीमा अन्डा पारेर वृद्धि विकास गर्नुका साथै संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टे संक्रमण गराउने हुने बताइन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरु गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*