हुम्लाका कुनै पनि स्वास्थ्य चौकीमा ल्याब सेवा छैन

कोल्हवी न्यूज
२०७९ फाल्गुन २०, शनिबार ०६:५० गते

बिरामीको स्वास्थ्य जाँचपछि अति आवश्यक पर्ने ल्याब परीक्षण सेवामा हुम्ला जिल्लाका कुनै पनि स्वास्थ्य चौकीमा सो सेवा नभएको पाइएको छ।

स्थानीय गाउँपालिका र सरोकारवाला पक्षबाट यसका लागि व्यवस्था गर्ने कार्य हालसम्म नभएका कारण यो सेवा लिन बिरामीलाई सकस हुँदै आएको हो।

यो अवस्थाले गर्दा बिराम लागेपछि बिरामीलाई ल्याब परीक्षण गर्न तीन दिनसम्म पैदल हिँडेर जिल्ला अस्पतालमा आउनुपर्ने वा विकल्पमा जिल्लाबाहिर जानुपर्ने बाध्यता रहँदै आएको छ। जिल्लाका सात वटै गाउँपालिकामा स्थापना भएका स्वास्थ्य चौकीमा ल्याब परीक्षण उपकरण नभएपछि यो बाध्यता आइलागेको हो।

गाउँमा स्थानीय बिरामी भए ल्याब परीक्षण गर्नुपर्दा तीन दिन हिँडेर जिल्ला अस्पतालमा धाउनुुपरिरहेको छ। गाउँबाट चार घण्टा टाढाको स्वास्थ्य चौकी भए पनि त्यहाँ ल्याब परीक्षण नहुने भएकाले स्वास्थ्यकर्मीले जिल्ला अस्पताल पठाउने गर्छन्। यो बाध्यता उत्तरी नाम्खा गाउँपालिकाको हो। बिरामीले ल्याब परीक्षण नगराउने हो भने औषधि मात्र सेवन गर्नुपर्ने हुन्छ। उक्त गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी हुँदासमेत कुनैमा पनि ल्याब परीक्षण उपकरण छैनन्।
यता, सर्केगार्ड गाउँपालिका–८ को राहदेव गाउँका स्थानीय भैबिर रोकायाले आफूलाई पेटको बिमार लागेपछि रोडिकोट स्वास्थ्य चौकीले अस्पताल जान सिफारिस गरेपछि साढे दुुई दिन लगाएर जिल्ला अस्पताल आई ल्याब परीक्षण गर्नुपरेको बताए।

अस्पताल पुुगेर ल्याब परीक्षण गर्दा कुुनै पनि रोग नदेखिएको बताउँदै स्वास्थ्य परीक्षण भए पनि दुुःख र आर्थिक व्ययभार बोक्नुपरेको उनले दुखेसो सुनाए।

उक्त गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी रहे पनि कुुनै पनि ल्याब परीक्षण उपकरण छैनन्। स्वास्थ्य चौकीमा ल्याब परीक्षणका उपकरण नभएपछि यसरी स्वास्थ्य परीक्षण गर्न धाउने यी प्रतिनिधि पात्र हुन्। यो अवस्था जिल्लाका सात वटै गाउँपालिकामा विद्यमान छ।

जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले जिल्लाभरि २६ वटा स्वास्थ्य चौकी भए पनि कुनैमा पनि ल्याब परीक्षणका उपकरण नभएको बताइन्। जबकि स्वास्थ्य स्थापना भएपछि ल्याबको व्यवस्था अनिवार्य हुुनुपर्ने कानुनी व्यवस्था छ।

गाउँपालिकाहरूले कम्तीमा पनि आफ्नो गाउँपालिकाअन्र्तगतको एउटा सबैलाई पायक पर्ने स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था गर्नुपर्ने भए पनि त्यसतर्फ कसैले ध्यान दिन सकेको देखिँदैन। भूगोलका हिसाबले ठूलो जिल्लामा हाल जिल्ला अस्पताल र खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजारमा स्थापना भएको सामुदायिक अस्पतालमा मात्र ल्याब परीक्षणको व्यवस्था छ।

यो मापदण्डभित्र नपर्ने जिल्लाका सबै स्वास्थ्य चौकीले अन्य सेवा भने दिइरहेका छन्। उनले बिरामीले ल्याब परीक्षण गर्नुपर्ने अवस्था आए तीन दिन हिँडर जिल्ला अस्पतालमा आउनुुपर्ने वा जिल्लाबाहिर जानुुपर्ने बाध्यता रहेको बताइन्।देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*