डायलासिसका लागि पालो पाउन कठिन

कोल्हवी न्यूज
२०७९ फाल्गुन ११, बिहीबार ०७:१६

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न सक्छ । पालो नपाउनेहरू घर फर्किनुबाहेक उपाय रहँदैन ।

केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले ४५ वटा डायलासिस मेसिनबाट तीन सेसन गरेर डायलासिस भइरहेको जानकारी दिँदै भन्नुभयो, “सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।”

डायलासिसका लागि पालो कुर्नेहरू धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्र नभई देशभरका स्वास्थ्य संस्थामा अवस्था यस्तै छ । मुलुकभरमा सूचीकृत ५० वटा सरकारी र २९ वटा निजी, सामुदायिक तथा शिक्षण अस्पतालमा डायलासिस हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख डा। खगेश्वर गेलालले सरकारी अस्पतालमा २८० र निजी अस्पतालमा ४३३ गरी ७१३ वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

वीर अस्पतालका प्रवक्ता सागर मिश्रले सो अस्पतालमा २० वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिनुभयो । सो अस्पतालमा तीबाहेक आकस्मिक वार्डमा एक र आईसीयूमा एक मेसिन सञ्चालनमा छ । अस्पतालले दैनिक १२५ जनालाई सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्र रहेको स्थान अत्यन्त सानो भएकोले थप सेवा विस्तार गर्न कठिन रहेको डा। श्रेष्ठको भनाइ छ । उहाँले अन्य स्थानमा केन्द्रलाई विस्तार नगर्ने हो भने थप बिरामीलाई सेवा दिन सहज नहुने जानकारी पनि दिनुभयो ।

पछिल्लो समयमा मिर्गौलाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । खानपिनलगायतका कारण यस्ता बिरामीको सङ्ख्या निराशाजनक रूपमा बढ्दै गएको भनाइ चिकित्सकको छ । सामाजिक स्वास्थ्य सुरक्षा शाखा प्रमुख डा। गेलालले जटिल आठ रोगमध्ये मिर्गौलासम्बन्धी समस्या भएका बिरामी बढी रहने गरेको जानकारी दिनुभयो । जटिल रोगको उपचार गर्न सूचीकृत ११२ स्वास्थ्य संस्थामध्ये ७९ वटा स्वास्थ्य संस्थाले मात्र मिर्गौलाको डायलासिसका लागि सूचीकृत छन् । उहाँका अनुसार सूचीकृत हुनका लागि निवेदन दिने संस्थाको सङ्ख्या पनि निकै बढेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार मुलुकभर छ हजारभन्दा बढी मानिसका मिर्गौलाले काम गर्दैन । तीमध्ये पाँच हजारले निःशुल्क रूपमा डायलासिस गर्दै आएका छन् । बाँकी एक हजारले शुल्क लिएर आकस्मिक रूपमा डायलासिस गर्दै आएका छन् । त्यस्ता बिरामीले सातामा तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।

सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।
प्रदेशमा पनि डायलासिस केन्द्र विस्तारमा सरकार लागेको छ । सबैभन्दा कम कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको छ । ती दुई प्रदेशमा दुईरदुईवटा मात्रै डायलासिसका लागि सूचीकृत स्वास्थ्य संस्था छन् । बागमतीमा सबैभन्दा धेरै ५० वटा स्वास्थ्य संस्था सूचीकृत छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मिर्गौला फेल भएको मानिसका लागि डायलासिस उपयुक्त उपचार नभएको बताउँदै भन्नुभयो, “सधैँ डायलासिस गरेर हुँदैन । बिस्तारै प्रत्यारोपणमा जानैपर्छ । कसरी सबैभन्दा बढी प्रत्यारोपण गराउन सकिन्छ भन्ने योजनामा सरकार सक्रिय छ ।”

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सहयोगमा प्रदेशमा प्रत्यारोपण कार्य अगाडि बढाइएको छ । कर्णाली, गण्डकी र बागमती प्रदेशमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ । बाँकी प्रदेशमा सुरु हुने प्रक्रियामा छ । यस वर्ष चार सय जनाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा सरकार रहेको छ ।

प्रतिबिरामीले सातामा दुई पटक मात्र डायलासिस गर्दा पनि पाँच हजार रुपियाँ लाग्छ । अधिकांश बिरामीलाई हप्ताको दुई पटकले मात्र पुग्दैन, तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ । सरकारले वार्षिक तीन अर्ब रुपियाँ विपन्नको डायलासिसलगायतका उपचारमा खर्चिने गरेको छ ।गोरखापत्रअनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*